काठमाडौं- नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ।
शुक्रबार बिहान मस्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना भएका जोशीको आइसियुको भेन्टिलेटरमा उपचार जारी राखिएको छ।
शनिबारको तुलनामा उनको स्वास्थ्य अवस्था आइतबारसम्ममा निकै सुधार देखिएको उपचारमा संलग्न न्युरो सर्जन डा राजीव झाले जानकारी दिए।
झाका अनुसार शनिबारभन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाएका छन्। जोशीलाई आइतबार बिहानदेखि नै बेहोस पार्ने औषधि दिन छाडिएको छ। उनले आँखा भने खोलेका छैनन्।
यस्तै, आइतबार जोशीको सिटी स्क्यान पनि गरिएको छ। जसअनुसार उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत लगभग सफा भएको पाइएको छ।
‘उनको अवस्था अझै खतरामुक्त भने छैन,’ डा झाले भने, ‘उहाँको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ।’