काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसविरुद्दको खोप लगाएपछि विषाणुगत जिवाणुमाथि विजय हासिल गरेको महसुस भइरहेको बताएका छन्। नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा खोप लगाएपछि छोटो प्रतिक्रिया दिँदै प्रचण्डले विज्ञानले प्रमाणित गरेको खोप अरु सबैलाई लगाउन पनि आग्रह गरेका छन्।
उनले सुरुमा अरुले खोप लगाएको देख्दा दुख्छ होला भन्ने लागेपनि आफूले लगाउँदा थाहै नपाएको पनि प्रतिक्रिया दिएका छन्। उनले बिना हिच्किचाहट सहज रुपमा खोप लगाउन आग्रह गरेका छन्।
यस्तो छ उनको प्रतिक्रिया
अरुले खोप लगाएको देख्दा त अलि दुख्छ होला भन्ने लागेको थियो। आफैंले लगाउँदा खोप लगाएको थाहै पाइँन। कतिबेला खोप लगाउनुहुन्छ भनेको त भइसक्यो भन्नुभयो। यो बडो सरल रहेछ। कुनै पनि खालको तनावमा रहन आवश्यक छैन। विश्वभर कोभिड महामारीको जुन आतंक थियो अब यो खोपको आविश्कार भइसकेपछि र यो प्रमाणित भइसकेपछि अब मानिसले फेरि एकपटक खराब तत्वका विरुद्द वा विषाणुगत र जिवाणुका विरुद्द विजय हासिल गरेको महसुस भएको छ। आफूले खोप लगाउँदै गर्दा र अरु सबैले पनि खोप लगाएको हेर्दै गर्दा यो मानिसहरुको फेरि प्रकृतिप्रतिको विजयको नयाँ सिढीँमा पुग्यो भन्ने अनुभूती भएको छ। म सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई बिना हिच्किचाहट सहज रुपमा यो खोप लगाउँन आग्रह गर्छु।