काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले कोरोना भाइरसविरुद्दको खोप लगाएका छन्। खोप लगाइसकेपछि उनले आफू सुरक्षित रहेको महसुस गरेको प्रतिक्रिया दिए।
उनले कोरोना भाइरसविरुद्दको यो खोप सुरक्षित रहेकाले सबैले ढुक्क भएर लगाउनुपर्ने बताए। उनले २३ गतेदेखि ५५ वर्षमाथिका नागरिकलाई खोप लगाउने अभियान सुरु हुने भएकाले आफूले पनि सुरुमा सोही दिनमा लगाउने तयारीमा रहेको जानकारी दिए। तर संसद अधिवेशन सुरु हुने भएपछि ४ दिन अघि नै लगाउनु परेको जानकारी दिए।
उनले कोरोना भाइरसविरुद्दको खोपको सहज उपलब्धताका लागि मन्त्रालयले प्रयास गरिरहेको पनि जानकारी दिए। विश्वभर कोरोना खोपको माग भइरहेकाले नेपालमा पनि सहज रुपमा ल्याउन मन्त्रालयले काम अगाडि बढाइरहेको उनले बताए। उनका अनुसार मन्त्रालयले थप ५० लाख डोज खोप खरिदको प्रक्रिया समेत अगाडि बढाइसकेको छ।
सांसदहरुका लागि आजदेखि निजामती अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ। सांसद र संसद भवनका कर्मचारीले शुक्रबारसम्म अस्पतालमा रहेको खोप केन्द्रबाट खोप लगाउन पाउने छन्। संसद सचिवालयले सांसद तथा कर्मचारी गरि १५ सय जनाको विवरण स्वास्थ्य मन्त्रालयमा पठाएको छ। सोही अनुसार मन्त्रालयले खोपको व्यवस्थापन गरेको हो।
सांसदहरुलाई खोप लगाउन आज पहिलो दिन प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री त्रिपाठी, सांसदहरु लालबाबु पण्डित, मात्रिका यादव, उमेश श्रेष्ठ, विनोद चौधरी, देवप्रसाद गुरुङ, गणेशकुमार पहाडी, जयपुरी घर्ती लगायतले कोरोना खोप लगाइसकेका छन्।