काठमाडौं – कोभिड १९ विरुद्धको खोप अभियानको दोस्रो चरण आजदेखि सुरु हुँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरण अन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउँदैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप लगाएसँगै दोस्रो चरणको खोप अभियानको सुरुवात हुनेछ। खोप लगाउन प्रधानमन्त्री ओली बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुग्ने कार्यक्रम तय भएको छ।
खोपको उपलब्धता र जोखिमको आधारमा आजदेखि ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइने मन्त्रालयले जनाएको छ। दोस्रो चरण सुरु भएको ११ औँ दिनदेखि ५५ देखि ६४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई खोप दिइनेछ। यद्यपि हिमाली जिल्ला तथा भेगको हकमा खोपको उपलब्धताको आधारमा ५५ वर्ष माथिका सबैलाई खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ। खोप अभियानमा १५ हजार स्वास्थ्यकर्मीलाई खटाइएको छ।
दोस्रो चरणको खोप अभियान सञ्चालनका लागि मन्त्रालयले ६ हजार खोप केन्द्र तोकेको छ। यसअघि अस्पतालहरुमा खोप अभियान सञ्चालन गरेको मन्त्रालयले दोस्रो चरणमा खोप केन्द्र नै तोकेको हो। प्रतिदिन २ देखि ३ लाख जनालाई खोप लगाइने मन्त्रालयले जनाएको छ।