काठमाडौं- कोरोना भाइरसविरुद्दको खोप लगाएका प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट बालुवाटार फर्किएका छन्। खोप लगाएर फर्कने क्रममा प्रधानमन्त्री ओलीले छोटो प्रतिक्रिया दिँदै आफूलाई कुनै समस्या नदेखिएको बताए।
उनले खोप अभियानलाई सफल पार्न सबैलाई खोप लगाउन पनि आग्रह गरेका छन्।
'मैले कोभिडको भ्याक्सिन लगाएँ, अहिले कुनै कम्प्लिकेसन छैन, सबैले खोप लगाएर खोप अभियानलाई सफल पारौं,' प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर खोप लगाएका हुन्। प्रधानमन्त्रीले खोप लगाइसकेपछि ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउने काम सुरु भएको छ।