काठमाडौं– मंगलबार एकै दिन २ लाख ९ हजार जनाभन्दा बढी ज्येष्ठ नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्।
स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक गौतमका अनुसार मंगलबार एकै दिन २ लाख ९ हजार १२७ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन्।
डा गौतमका अनुसार यो तथ्यांक मंगलबार साँझ ७ बजेसम्मको मात्र हो।
देशभर रहेका ३ हजार ३३२ वटा खोप केन्द्रमध्ये कतिपय खोप केन्द्रबाट भने मंगलबारको खोप लगाउनेको तथ्यांक आउने क्रम जारी रहेको उनले जानकारी दिए।
‘मैले भनेको यो तथ्यांक साँझ ७ बजेसम्मको मात्र हो, डाटा इन्ट्रि हुने क्रम जारी नै छ,’ उनले भने, ‘कतिपय दुर्गम क्षेत्रमा नेटको समस्या भएर डाटा इन्ट्रि हुन समय लाग्ने गरेको छ।’
डा गौतमल पहिलो दिन आइतबार २ लाख १८ हजार ९ सय ६२ जना र दोस्रो दिन सोमबार २ लाख ४१ हजार ५१० जना ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएको पनि जानकारी दिए।
बाल स्वास्थ्य तथा खोप शाखाको यो तथ्यांकलाई हेर्दा ६ लाख ६९ हजार ५९९ जना ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले खोप लगाइसकेका छन्।
डा गौतमका अनुसार दोस्रो प्रथामिकतामा परेका ५५ वर्ष माथिका १७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने सरकारको लक्ष्य छ।
सोही लक्ष्यका साथ आइतबारदेखि १० दिनसम्म ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन थालिएको हो।
यस्तै चैत ४ गतेदेखि ५५ वर्ष माथिकलाई खोप दिने जनाइएको छ।
डा गौतमका अनुसार खोप अभियानमा ज्येष्ठ नागरिकहरुको उत्साहजनक सहभागिता देखिएको छ।
‘प्रतिदिन २ देखि ३ लाख व्यक्तिले खोप लगाउछन् भन्ने हाम्रो अनुमान थियो,’ डा गौतमले भने, ‘खोप लगाउनेको संख्या त्यहि रेसियोमा गइरहेको छ, त्यसैले हाम्रो लक्ष्य पुरा हुन्छ भन्ने अपेक्षा छ।’
हालसम्म खोप लगाएका ६ लाख भन्दा बढी ज्येष्ठनागरिकहरुमा केहीमा खोपको सामान्य लक्षण देखिएपनि गम्भीर असर नदेखिएको पनि डा गौतमले बताए।
उनले भने,‘सामान्य, टाउको दुख्ने, शरीर दुख्ने,खोप लगाएको ठाउँमा दुख्ने सामान्य खालको लक्षण देखिएको छ, तर अहिलेसम्म भने जटिल खालको समस्या कसैमा पनि छैन।’