काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुको शुल्क पुनरावलोकन गर्न समिति गठन गरेको छ। आइतबार बसेको बैठकले निजी अस्पतालहरुको शुल्क पुनरावलोकन गर्न मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा समिति गठन गरेको हो।
अस्पतालहरुले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा बहिरंग, अन्तरंग, शल्यक्रिया आदि सेवाहरुको गुणस्तर निर्धारण, शुल्क, अस्पतालले आफ्ना कर्मचारीहरुलाई दिने सेवा सुविधाहरु समय अनुसार भए नभएको बारे पुनर्विचार गर्न समिति गठन गरिएको प्रवक्ता डा जागेश्वर गौतमले बताए।
समितिमा नेपाल मेडिकल काउन्सिल, निजी अस्पतालहरुको संगठन, मन्त्रालयको गुणस्तरीय महाशाखाका प्रमुख, नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख, निजी मेडिकल कलेजका संगठनहरुको प्रतिनिधि सहितका विज्ञहरु सदस्य छन्।
उक्त समितिले सरोकारवालासँग छलफल गरी सेवाको शुल्क र कर्मचारीको सेवा सुविधा सम्बन्धनमा प्रतिवेदन पेश गर्ने गौतमले जानकारी दिए। प्रतिवेदनका आधारणमा आवश्यक निर्णय गरेर कार्यान्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ।