काठमाडौं– बहराइनबाट सोमबार नेपाल ल्याइएको २ हजार डोज कोरोना भाइरसविरुद्धको खोपको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ।
स्वास्थ्य मन्त्रालयसँग समन्वय नै नगरी बहराइनबाट सोमबार २ हजार डोज खोप भित्रिएपछि मन्त्रालयले मंगलबार सो खोपको विषयमा छलफल गरेको थियो।
नेपाली राजदूतावासले नै खोप सहितको टोलीलाई नेपाल पठाएको र नेपालमा सो खोप आएको विषय स्वास्थ्यखबरमा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार औषधि व्यवस्था विभागसँग छलफल गरेको थियो।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार खोप हिजो नै आएपनि स्वास्थ्य मन्त्रालयलाई परराष्ट्र मन्त्रालयले आज मात्र जानकारी दिएको छ।
‘त्यो खोप नेपालमै छ, तर त्यो खोप स्वास्थ्य मन्त्रालयलाई जानकारी भएर प्रक्रिया पुर्याएर आएको होइन,’ सहप्रवक्ता डा अधिकारीले भने, ‘हामीले त्यो खोप हिजो नै आएको भन्ने कुरा पनि आज (मंगलबार) थाहा पाएको हो।’
खोप नेपाल आइसकेको र नेपालमा हाल खोप आवश्यक भएकाले स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागलाई सो खोपको विषयमा छानबिन गर्न मंगलबार निर्देशन दिइसकेको छ।
‘त्यसरी जानकारी नै नदिइ खोप ल्याउन पाउने व्यवस्था छैन, अब औषधि व्यवस्था विभागले त्यो खोपको विषयमा के गर्ने भनेर अनुसन्धान गर्छ,’ उनले भने, ‘हामीलाई अहिले खोप आवश्यक छ, हामीले प्रयोग गरेकै खोप भन्ने सुनिएको छ, त्यसको सन्दर्भमा विस्तृत अध्ययन गरेर स्वास्थ्य मन्त्रालयलाई रिपोर्ट पेस गर्नु भनेर औषधि व्यवस्था विभागलाई निर्देशन दिइसकिएको छ।’
उनले औषधि व्यवस्था विभागले उक्त खोपको विषयमा अध्ययन सुरु गरिसकेको जानकारी दिए।
नेपालमा कुनै पनि औषधि तथा खोप औषधि व्यवस्था विभागको स्वीकृति बिना भित्र्याउन पाइदैन।
तर बहाराइनबाट स्वास्थ्य मन्त्रालय तथा विभागलाई जानकारी नै नदिई २ हजार डोज कोरोना विरुद्धको खोप ल्याइएको थियो।
बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको १५ जनाको टोलीले सोमबार नेपाल आउँदा उक्त खोप ल्याएका थिए। खोप नेपाल आइसक्दा पनि सोमबार दिउँसो सम्म स्वास्थ्य मन्त्रालय र मातहतका कुनै पनि निकायलाई जानकारी भने थिएन।
तर बहराइन स्थित नेपाली राजदूत पदम सुन्दास लगायत दूतावास परिवारले भने खोप सहित नेपाल आएका टोलीलाई सोमबार त्यहाबाट विदाई नै गरेका थिए।