काठमाडौं– औषधि व्यवस्था विभागले बहराइनबाट ल्याइएको कोरोनाविरुद्धको खोपबारे प्रारम्भिक अनुसन्धान पुरा गरेको छ। स्वास्थ्य मन्त्रालयसँग समन्वय नै नगरी बहराइनबाट सोमबार नेपाल ल्याइएको २ हजार डोज खोपको विषयमा विभागले बिहीबार प्रारम्भिक अनुसन्धान पुरा गरेको हो।
विभागले गरेको प्रारम्भिक अनुसन्धानबाट सो खोप नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति पाइसकेको खोप नै भएको भेटिएको छ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार सो खोप सिनोफार्म अन्तरगतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोप ‘सार्स -कोभ -२ भ्याक्सिन (भेरो सेल) रहेको पाइएको छ।
विभागले प्रारम्भिक अनुसन्धान गरी खोपको मात्रा, उत्पादन मिति, खोपको नाम, ल्याउने व्यक्तिहरु लगायतका विषयमा अनुसन्धान गरी त्यसको रिपोर्ट स्वास्थ्य मन्त्रालयलाई बुझाइसकेको छ। विभागका सूचना अधिकारी केसीले स्वास्थ्य मन्त्रालयलाई बिहीबार नै सो खोपको विषयमा प्रारम्भिक अनुसन्धानको रिपोर्ट बुझाएका बताए।
उनका अनुसार नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति पाएको खोप भएपनि स्वास्थ्य मन्त्रालयसँग समन्वय नै नभइ ल्याएको हुँदा प्रयोग गर्ने/नगर्ने भन्ने विषयमा भने छलफल गर्न बाँकी नै रहेको छ। सो खोपलाई हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोप भण्डारणमा नै राखिएको छ।
‘त्यो खोप अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भण्डारण कक्षमै छ,’ उनले भने, ‘हामीले प्रारम्भिक अनुसन्धानको रिपोर्ट मन्त्रालयमा बुझाएका छौं। तर प्रयोग गर्ने नगर्ने भन्ने विषयमा मन्त्रालयले परराष्ट्र मन्त्रालयमा थप छलफल गरेर निर्णय गर्छ।’
नेपालमा कुनै पनि औषधि तथा खोप औषधि व्यवस्था विभागको स्वीकृति बिना भित्र्याउन पाइदैन।
तर बहाराइनबाट स्वास्थ्य मन्त्रालय तथा माताहतको निकाय तथा विभागलाई जानकारी नै नदिइ २ हजार डोज कोरोनाविरुद्धको खोप ल्याइएको थियो।
बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको १५ जनाको टोलीले सोमबार नेपाल आउँदा उक्त खोप ल्याएका थिए। खोप नेपाल आइसक्दा पनि सोमबार दिउँसोसम्म स्वास्थ्य मन्त्रालय र मातहतका कुनै पनि निकायलाई जानकारी भने थिएन।
तर बहराइनस्थित नेपाली राजदुत पदम सुन्दास लगायत दुतावास परिवारले भने खोप सहित नेपाल आएका टोलीलाई सोमबार त्यहाँबाट विदाई नै गरेका थिए।
नेपाली राजदुतावासले नै खोप सहितको टोलीलाई नेपाल पठाएको र नेपालमा सो खोप आएको विषय सञ्चारमध्यमहरुमा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार औषधि व्यवस्था विभागसँग छलफल गरेको थियो।
खोप नेपाल आइसकेको र नेपालमा हाल खोप आवश्यक भएकाले स्वास्थ्य मन्त्रालयले मन्त्रालयले औषधि व्यवस्था विभागलाई सो खोपको विषयमा छानवीन गर्न मंगलबार निर्देशन दिएको थियो।