काठमाडौं– छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर बढ्न थालेपछि नेपालमा पनि फेरी कोरोना संक्रमण बढ्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले भारतमा कोरोना संक्रमण बढ्दै जाँदा नेपालमा पनि संक्रमण बढ्ने जोखिम उच्च हुने बताए।
उनले हाल नेपालमा कोरोना संक्रमणको दर कम भएपनि संक्रमणको उच्च जोखिमको अवस्थामै भएको पनि बताए।
उनले भारतमा संक्रमण दर बढ्न थालेपछि सिमा नाकामा निगरानी बढाउने निर्णय स्वास्थ्य मन्त्रालयले गरिसकेको पनि बताए।
‘छिमेकी मुलुकमा संक्रमण बढ्दै जादा हामीकहाँ जोखिम हुनसक्छ भने हरेक नाकाहरुमा निगरानी बढाउने निर्णय स्वास्थ्य मन्त्रालयले गरिसकेको छ।
सहप्रवक्ता डा अधिकारीले अहिले पनि बाहिबाट नेपाल आउनेहरुलाई १० दिन क्वारेन्टाइनमा बस्न भनिएको पनि बताए।
स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले पनि भारतका विभिन्न प्रान्तमा कोरोना संक्रमण बढिरहेकाले केही शहरहरुमा लकडाउन तथा रात्रीकालिन कफ्यु लगाउन थालिएको बताए।
उनले ती प्रान्तहरुमा रहेका नेपाली स्वदेश फर्किदा उनीहरुसँगै नेपालमा कोरोना संक्रमण प्रवेश गर्ने जोखिम रहेको बताए।
डा पौडेलले भारतबाट नेपालमा फेरी कोरोना संक्रमण नफैलियोस् भनेर सिमा नाकाहरुमा ज्वरो परीक्षण तथा जाँच हुन थालेको पनि बताए।
उनले ज्वरो आएका व्यक्तिहरुको लागि आरडीटी परीक्षण वा सम्भव भएन कोभिडङ१९ को एन्टिजेन टेस्ट गर्न निर्देशन दिइसकेको पनि बताए।
डा पौडेलले एन्टिजेन पोजेटिभ आएका व्यक्तिहरुलाई उपचार र आवश्यक व्यवस्थापनका लागि नजिकको अस्पतालमा व्यवस्थापन गर्न पनि निर्देशक दिइसकेको बताए।
उनले भारतीय सिमानाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई नेपालमा क्वारेन्टिन बसन समेत आग्रह गरेका छन्।
उनले भारतमा देखिएको कोरोना भाइरस नयाँ भेरिटएन्टको हो वा होइन भन्ने एकिन नभइसकेको र यदी नयाँ भेटिएन्टको भएमा सोही अनुसारको स्वास्थ्य मन्त्रालयले सतर्कताको पहल गर्ने पनि बताए।
उनले नयाँ भेरिएन्टको कोरोना भाइरस नेपालमा देखिनसक्ने भएकाले सबैले जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने पनि बताए।