कोरोना भाइरसको संक्रमणपछि समग्र विश्वको ध्यान स्वास्थ्य क्षेत्रमा छ। भाइरसको संक्रमण फैलिएको एक वर्षभन्दा बढी भइसकेको छ। कोरोना भाइरसको संक्रमणपछि धेरैले यसको औषधि र भ्याक्सिनका विषयमा चासो दिएका थिए। नेपालमा पनि यसको औषधि र भ्याक्सिनका विषयमा छलफल चलिरहेको छ। यो समयमा नेपाली औषधि उत्पादनको क्षेत्रमा के–कस्तो असर परेको छ? नेपालमा भ्याक्सिन उत्पादनको सम्भावना लगायतका विषयमा नेपाली औषधि उत्पादक कम्पनी म्याग्नस फर्मास्युटिकल्स प्रालिका बजार निर्देशक सुधीरप्रकाश मास्केसँग गरिएको कुराकानीः
कोरोना महामारीले मुलुकको औषधि उद्योगमा के–कस्तो असर गरेको छ?
कोरोना महामारीले नेपालमा मात्र नभई विश्वभर असर गरेको छ। तर कोरोना महामारीले के नकारात्मक असर गर्यो भन्दा पनि यसबाट के कुरा सिक्ने भन्नेतर्फ सोच्नु जरुरी छ। यसको सकारात्मक पाटोतर्फ पनि हेरौं।
यो पृथ्वी मानव जातिको मात्र होइन। यहाँ सबैको किसिमको जीव, पशुपक्षी, जनावर बस्छन्। त्यसैले हामीले सबैको अस्तित्वलाई स्वीकार गर्नुपर्छ। हामीले जुन पीडा अहिले झेलिरहेका छौं, त्यो हाम्रो नै कर्मको फल हो। हामीले प्रकृतिमाथि यति धेरै अत्याचार गरेका छौं, त्यसकै प्रतिफल हो यो। त्यसैले कोभिडबाट हामीले के र कसरी शिक्षा लिने भन्ने विषय महत्वपूर्ण छ।
कोरोना महामारीले स्वास्थ्य क्षेत्र र मेडिकलसँग सम्बन्धित क्षेत्रमा धेरै असर परेको छ। तर अन्य क्षेत्रको तुलनामा हामी कमसे कम बाँची त रहेका छौं, चली त रहेका छौं। अहिलेको अवस्थामा जीवित रहनु नै ठूलो कुरा हो। जबसम्म यो महामारी सकिँदैन तबसम्म जीवित रहनु ठूलो हो। औषधि क्षेत्रको कुरा गर्दा, कोरोना संकटको समयमा भएको लकडाउनले उत्पादन, बजार लगायतका क्षेत्रमा निकै प्रभाव पार्यो। यो क्षेत्रमा काम गरिरहेको जनशक्ति समेत संक्रमित भयो।
कोरोनाले औषधि उद्योगलाई मात्र होइन, सबै उद्योगलाई असर पारेको छ। अहिलेको अवस्थामा कसरी बाँच्ने भन्नेतर्फ मात्र हामी लागिरहेका छौं। कोरोनापछिको लकडाउन र महामारीले पारेका समस्या त धेरै छन्। सुरुवाती दिनमा कच्चा पदार्थ ल्याउन समस्या भयो। तर धेरै अप्ठ्यारो पनि परेको छैन। कच्चा पदार्थ ल्याउन सहजीकरण भएको छ।
अहिले अप्ठ्यारो भनेको बजार हो। किनभने, बजार पूर्ण रुपमा खुला भइसकेको छैन। खुला भएर पनि सीमित मात्र काम भएको छ। त्यसैले बजार खुम्चिएको छ। तर धरासायी हुने अवस्था चाहिँ छैन।
यो संकट हाम्रो लागि केही सिक्ने अवसर पनि हो, तपाईं यसलाई स्वीकार्नु हुन्छ?
पक्कै पनि। मेरो आसय पनि यही हो। हरेक समस्याले अवसरको विकास गर्छ। संसारमा जति पनि देशले विकास गरेका छन्, उनीहरु सबैले ठूलो चुनौतीसँग जुधेर मात्र त्यो विकास सम्भव भएको छ। हरेक संकटको सकारात्मक पाटो पनि हुन्छ। हामीले त्यही सकारात्मक पाटोमा ध्यान दियौं भने यो संकट व्यवस्थापन गर्ने अर्काे बाटो देखाउँछ। त्यसतर्फ पनि हामीले सोच्नुपर्छ।
कोरोना महामारीले निम्त्याएको यस संकटले औषधि उत्पादनका क्षेत्रमा रहेकाहरुलाई के पाठ सिकायो? नेपालमा नै खोपको विकास गर्नुपर्ने या नयाँ औषधि बनाउनुपर्ने आवश्यकता हो त?
नेपालमा भोलिको दिनमा यस किसिमको संकट या महामारी नआउला भन्न सकिँदैन। औषधि भनेको अत्यावश्यक वस्तु हो। त्यसैले जति छिटो सकिन्छ, औषधिमा आत्मनिर्भर हुँदै गयौं भने हामीलाई सजिलो हुन्छ। नेपालमा कुनै पनि औषधि उत्पादन हुन्थेन भने अवस्था यो भन्दा विकराल हुन्थ्यो।
नेपालमा खोपजन्य औषधिहरु बनेका छैनन्। अब त्यसमा पनि अग्रसरता लिन जरुरी छ। हामी त्यो दिशातर्फ पनि अघि बढिरहेका छौं। हामी विभिन्न सम्बन्धित विदेशी निकायसँग यस विषयमा छलफल समेत गरिरहेका छौं। विदेशमा बनेका कुनै पनि औषधि नेपालमा कसरी बनाउन सकिन्छ भन्ने विषयमा अब हाम्रो चासो हो।
त्यसैले यसलाई अवसरको रुपमा लिएर हामीले नयाँ पाइला टेक्नुपर्छ। यो संकटले के अवसर दिन्छ, त्यसलाई ध्यान दिएर नयाँ भ्याक्सिन, नयाँ औषधि र नयाँ प्रविधि ल्याउने बेला हो यो। प्रविधिले विश्वमा फड्को मारिरहेको छ। यही प्रविधिलाई उपयोग गरी अघि बढ्ने हो। अहिलेको अवस्थामा नेपालमा बनाउन नसकिने भन्ने केही पनि छैन। नेपालमा केही पनि गर्न सकिँदैन भन्ने हिनताबोधबाट हामी मुक्त हुनुपर्छ।
विश्वको सबैभन्दा शक्तिशाली आर्थिक क्षमता भएको चीन र भारत हुन्। यी दुवै राष्ट्र हाम्रा छिमेकी हुन्। चीनले र भारतले गर्न सक्छ भने हामीले किन गर्न नसक्ने? हामीले उनीहरुको स्रोत–साधनलाई उपयोग गरेर देशको आर्थिक पाटोलाई अघि बढाउन सक्छौं र त्यो दिशामा हामी हिँड्नु जरुरी छ। त्यसैले यही अवस्थामा अघि बढ्न सक्यौं भने हामीले चुनौतीलाई अवसरको रुपमा पनि परिणत गर्न सक्छौं र गर्नुपर्छ। संकट भयो, समस्या भयो भनेर कराएर मात्र हुँदैन।
भ्याक्सिन लगायत औषधिको विषयमा सम्बन्धित विदेशी निकायसँग छलफल हुँदैछ भनेर यहाँले भन्नुभयो। तर यसमा सरकारको पनि सहयोग आवश्यक पर्छ होला। यसमा सरकारले के–कस्तो सहयोग गर्नुपर्ला?
सरकारी समर्थन र सरकारको कुरामा म ‘नो कमेन्ट’ भन्छु। सरकारी निकायले आफ्नो ठाउँबाट काम गर्दै जाने हो। हामी आफ्नै प्रयासबाट अगाडि बढ्ने हो। व्यक्तिगत रुपमा सरकारबाट म केही पनि आशा गर्दिनँ। किनभने, सरकार आफैं अन्योलमा छ। हुन त सरकारको साथ र समर्थन बिना कुनै पनि उद्योग चल्न सक्दैनन्। तर अहिलेको परिस्थितिमा आफ्नो बलमा जे गर्न सकिन्छ, त्यो गर्ने हो। सरकारले समर्थन गर्छ भनेर म चाहिँ त्यति आशावादी छैन। तर सरकारले समर्थन गर्नुपर्छ।
सरकारले अलिकति मात्रै अग्रसरता लियो भने धेरै गर्न सकिन्छ। किनकी नेपाल चीन र भारत जति ठूलो छैन। राम्रोसँग गर्ने हो र राम्रो नेतृत्व हुने हो भने नेपालमा विकास धेरै सम्भव छ। तर हाम्रो देशमा नेतृत्व नै छैन। सबैभन्दा ठूलो विडम्बना यही हो।
एउटा उदाहरण दिन्छु, जब नेपालमा नाकाबन्दी भयो। ग्याँसको अभाव भयो। त्यसपछि सबैको घरघरमा इन्डक्सन चुल्हो हुन थाल्यो। किनभने, त्यो बेलाको अवस्थाले सिर्जना गरिदिएको हो। अहिले पनि कोरोना संकटले नेपालमा औषधि उत्पादनको क्षेत्रमा ठूलो अवसर सिर्जना गरेको छ। अब यो अवसरलाई सदुपयोग गर्न सरकारले त्यही किसिमको माहोल बनाउनुपर्छ। त्यो खालको परिस्थिति र माहोल सरकारले बनाइदिने हो भने विकास सम्भव छ। औषधि उद्योगमा पनि सरकारले यस्तै किसिमको वातावरण बनाइदिन आवश्यक छ।
हामी स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागका कर्मचारीलाई गाली गर्छौं। तर मलाई के लाग्छ भने, कुनै कर्मचारी र ब्युरोक्रेसीको केही पनि भूमिका छैन। उनीहरु भनेको मेसिनरी पार्ट हो। उनीहरुलाई चलाउने नेतृत्वको जबसम्म स्पष्ट योजना र भिजन हुँदैन तबसम्म तलका मानिसले चलखेल गरिराख्छन्। नेपालमा अहिले भइरहेको पनि यही हो। माथिल्लो तहमा स्पष्टता छैन अनि तलका कर्मचारीले कसरी काम गर्छन्? त्यसैले आफैंले जे गर्न सकिन्छ, त्यही गर्ने हो।
सरकारले यदि वातावरण बनाइदिने हो भने स्वदेशी उत्पादकहरु नेपालमै भ्याक्सिन बनाउन सक्षम छन् त?
यदि सरकारले समर्थन गर्ने हो र वातावरण बनाइदिने हो भने स्वदेशमै भ्याक्सिन बनाउन सकिन्छ। यसलाई ल्याउन लाग्ने खर्च र बजारको आकार नमिल्दा कसैले आँट गर्न नसकेको हो। यहींनेर सरकारको भूमिका हुन्छ। सरकारले आफैं गर्नु पनि पर्दैन। मात्र तिमीहरु गर म सुरक्षा दिन्छु भनिदिए मात्र पनि यहाँ लगानी गर्न जति पनि आउँछन्। तर ब्युरोक्रेसीको जालमा अल्झिन त कोही पनि आउँदैन।
म्याग्नस कम्पनी आफैंको पहिला र अहिलेको कार्यतालिकामा के परिवर्तन आएको छ? उत्पादनमा के असर परेको छ?
कोरोना संक्रमणपछि जनशक्ति व्यवस्थापनमा एकदम समस्या परेको थियो। कम्पनीमा एक जनालाई कोरोना भए बाँकी २०/२५ जना आइसोलेसनमा बस्नुपर्ने अवस्था थियो। त्यो बेला भित्र उद्योगमा मान्छे बस्ने व्यवस्था नै थिएन। तर जेनतेन सीमित कर्मचारीलाई उद्योगमा राखेर पनि चलाइयो। तर एकै ठाउँमा धेरै दिन बस्दा आत्तिने भएकाले बस्नै नमान्ने पनि भयो।
त्यसैले, कम्पनीमा ८/१० दिनसम्म बस्न मिल्ने गरी संरचना पनि बनाउनुपर्ने रहेछ भन्ने अनुभव भयो। अब हामी यही योजनामा पनि छौं। जनशक्ति व्यवस्थापन ठूलो चुनौतीको विषय हो। हाम्रो उत्पादन हामीले जसरी हुन्छ, व्यवस्थापन गरेका छौं। तर धेरै अप्ठ्यारो छ। हामी आफ्नो मागलाई पूर्ति गर्ने कोसिस गरिरहेका छौं।
अन्त्यमा, म्याग्नस फर्मा आफैंले के–कस्ता औषधि उत्पादन गरिरहेको छ, त्यसको जानकारी दिनूस् न।
हामीले नेपालमा उत्पादन भइरहेका भन्दा पनि विदेशबाट आयात हुने औषधिलाई प्रतिस्थापन गर्ने किसिमले औषधि उत्पादन गर्र्छौं। किनभने, नेपालमा उत्पादन भइरहेकासँग भन्दा पनि यहाँ उत्पादन नहुने औषधि बनाउनु र आयातलाई प्रतिस्थापन गर्नु हाम्रो उद्देश्य हो। हामीले नेपालमै पहिलो पटक उत्पादन गरेका धेरै मोलिक्युलरहरु छन्। त्यसैले म्याग्नसलाई आज त्यही सिर्जनशीलताका रुपमा मानिसले चिन्छन्। हामी यही रुपमा अघि बढ्दैछौं। नयाँनयाँ उत्पादनहरु ल्याइरहेका छौं। अहिले पनि धेरै पाइप लाइनमा छन्। यदि परिस्थिति सहज भयो भने नेपालमा नबनेका र नभएका औषधि र भ्याक्सिजको एक्सप्लोर गर्दैछौं। अवस्था सामान्य हुने बित्तिकै हामी केही न केही नयाँ गर्छौं।