काठमाडौं- डा अजित मल्लिकको आन्दोलनप्रति मेडिकल विद्यार्थीहरूको संस्था सोसाइटी अफ मेडिकल स्टुडेन्ट नेपालले ऐक्यबद्धता जनाएको छ।
कोभिड महामारीमा जोखिम मोलेर खटिएका चिकित्सक डा मल्लिकले कोभिड भत्ता पाउनुपर्ने भन्दै सुरु गरेको आन्दोलनप्रति सोसाइटीले ऐक्यबद्धता जनाएको हो।
महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई तत्काल कोभिड भत्ता उपलब्ध गराउनुपर्ने सोसाइटीका महासचिव निराजन यादवले बताए। उनले भने, ‘डा मल्लिक महामारीमा खटिनुभयो। तर अहिलेसम्म कोभिड भत्ता पाउनु भएको छैन। खटाउने बेला खटाइयो। अनि एक वर्ष भइसक्दा पनि कोभिड भत्ता दिइएन। त्यसैले हामीले उहाँको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हौँ।’
एक वर्ष भइसक्दा पनि कोभिड भत्ता उपलब्ध गराउनका लागि कुनै पहल नभएको उनको भनाइ छ। कोभिड-१९ विरुद्धको उपचारमा खटिएबापतको जोखिम भत्ता नपाएको भन्दै डा मल्लिकले बिहीबारदेखि एक्लै धर्ना सुरु गरेका थिए।
सिभिल अस्पतालमा कार्यरत डा मल्लिकले कोभिड भत्ता नपाएसम्म धर्ना निरन्तर जारी राख्ने बताएका छन्।