काठमाडौं– चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप आज सोमबार आइपुग्ने भएको हो।
चीन सरकारले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भाक्सिन (भेरोसेल) खोपको ८ लाख डोज नेपाललाई अनुदानमा दिएको हो।
सो खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्दैछिन्।
उक्त खोप र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज आइतबार साँझ नै चीनको बेजिङ क्यापिटल अन्तराष्ट्रिय विमानस्थल पुगेको थियो।
उक्त खोप चिन सरकारले ८ लाख डोज मात्र अनुदानमा दिएको छ। यो खोप पनि कोभिसिल्ड जस्तै दुई मात्रामा लगाउनुपर्ने हुन्छ।
खोप लगाउनुपर्ने जनसंख्या धेरै भएको र अनुदानमा आउन लागेको खोपको मात्रा कम भएकाले स्वास्थ्य मन्त्रालयले कस्ता व्यक्तिहरुलाई खोप दिने भन्ने निर्णय भने गरिसकेको छैन।
सो खोप कसरी र कस्ता व्यक्तिका लागि लगाउने भनेर स्वास्थ्य मन्त्रालयले छलफल गरिरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताए।
‘यो खोप आम सर्वसाधारणलाई पुग्ने आएमा सोही अनुसार दिन सकिन्थ्यो, सिमित मात्र आउने भएकाले जोखिम समूहमा पर्ने लक्षित वर्गलाई प्राथमिकीकरण गरेर लगाउने कि भन्ने कुरा भएको छ,’ डा अधिकारीले भने, ‘योजनाहरु बन्दै छ, छलफल भइरहेको छ, तर अहिले नै कस्ता समूहलाई लगाउने भन्ने टुंगो लागेको छैन।’