काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजेटिभ आएका व्यक्तिहरुलाई अस्पताल तथा आइसोलेसन सेन्टरमा अनिवार्य रुपमा राख्न निर्देशन दिएको छ।
भारतीय सीमा क्षेत्रमा कोरोना पोजेटिभ आएकाहरु सार्वजनिक यातायातमा नै यात्रा गरिरहेको पाइएको भन्दै स्वास्थ्य मन्त्रालयले सबै प्रदेशका सम्बन्धित स्वास्थ्यका निकायहरुलाई यस्तो निर्देशन दिएको हो।
स्वास्थ्य मन्त्रालयले सबै प्रदेशका सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वस्थ्य कार्यालयहरुको समन्वयमा कोरोनाको लक्षण वा चिन्ह भएकालाई अस्पताल र लक्षण नभएकालाई आइसोलेसनमा अनिवार्य रुपमा १० दिन राख्न निर्देशन दिएको हो।
भारतीय सीमा नाकामा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकाहरुलाई अस्पताल वा आइसोलेसन सेन्टरमा राखेबापत प्रति बिरामी प्रतिदिन दुई हजार सोधभर्ना स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने पनि जनाएको छ।