काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मंगल रावल नियुक्त भएका छन्। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा रावललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको उपकुलपति सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रधानमन्त्रीले डा रावललाई उपलकुपतिमा नियुक्त गरेका हुन्। हाडजोर्नीरोग विशेषज्ञ डा रावल प्रतिष्ठानका निर्देशक हुन्।
समितिले डा रावलसहित डा पुजन रोकाय र डा रेशम रानाको नाम सिफारिस भएको थियो। कर्णालीको उपकुलपतिका लागि २१ जनाको आवेदन परेको थियो। जसमध्ये समितिले प्रारम्भिक सूचीमा रहेका १३ जनाको नाम सार्वजनिक गरेको थियो।
प्रतिष्ठानका उपकुलपति डा राजेन्द्र वाग्लेको कार्यकाल सकिएपछि मन्त्री त्रिपाठीको संयोजकत्वमा सिफारिस समिति बनेको थियो। समितिले फागुन २४ गते सूचना सार्वजनिक गर्दै उपकुलपतिका लागि आवेदन माग गरेको थियो।
यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा डुकबहादुर क्षेत्री नियुक्त भएका छन्। समितिले पोखरामा डा डुकबहादुर क्षेत्री, ध्रुब बहादुर अधिकारी र डा श्रीकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो।