काठमाडौं– चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप (भेरोसेल) लगाउने व्यक्तिहरुको प्राथमिकिकरण गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार चीन सरकारबाट अनुदानमा आएको ८ लाख डोज खोप लगाउने व्यक्तिहरु प्राथमिकिकरण गरिएको हो।
उनका अनुसार पहिलो प्राथमिकतामा हिमालय पार व्यापारमा संलग्न व्यक्तिहरु, नेपालमै रहेका चीनमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरु, चीनमा अध्ययनका लागि जान लागेका व्यक्तिहरु र चीनमा आवतजावत गर्ने व्यक्तिहरु परेका छन्।
यस्तै सरकारले अत्यावश्यक सेवा भनेर तोकेको स्थानमा काम गर्ने व्यक्तिहरुलाई पनि निवेदनको आधारमा खोप लगाउने सूचीमा राखिएको डा गौतमले बताए।
चीन सरकारबाट प्राप्त भएको कोरोना भाइरसविरोद्धको खोप २५ गतेदेखि लगाइने उनले जानकारी दिए।
डा गौतमका अनुसार चीनबाट ८ लाख डोजमात्र खोप सहयोग आएकाले पहिलो डोज ४ लाख व्यक्तिलाई लगाउने र पहिलो डोज पाएका व्यक्तिहरुलाई नै निश्चित समयपछि दोस्रो डोज दिने योजना बनाइएको छ।
सो खोप १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई लगाउने सरकारको तयारी छ।