त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गरिएका बालक। तस्बिर: सौजन्य डा रमेश सिंह भण्डारी
काठमाडाैं– माथीको यो तस्बिर हो त्रिवि शिक्षण (टिचिङ)अस्पतालमा कलेजो प्रत्यारोपण गरिएका ११ महिने बालकको। तीन साताभन्दा बढी अस्पताल बसाईंपछि उनी आज डिस्चार्ज हुँदैछन्।
अस्पतालबाट डिस्चार्ज हुनुअघि कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीले ती बालकको तस्बिर परिवारको सहमतीमा नै सार्वजनिक गरेका हुन्। तस्बिरमा बालकको मन्द मुस्कान र थम्ब्स अप (बुढी औंला माथि उठाइएको) दिएका छन्।
ती बालकमा गत फागुन २९ गते राती कलेजो प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणसर्जन प्राध्यापक डा भण्डारी नेतृत्वको टोलीले गरेको हो।
टिचिङमा पहिलो पटक बालबालिकामा कलेजो प्रत्यारोपण भएको हो। डा भण्डारीको नेतृतत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो।
ती बालकलाई ३५ वर्षीय बुबाले कलेजो दिएका थिए।
प्रत्यारोपणपछिको केही जटिलता र त्यसपछिको उपचारका कारण स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि बालक अस्पतालबाट डिस्चार्ज हुन लागेको जानकारी डा भण्डारीले दिए। 'झण्डै एक महिनाजतिको अस्पताल बसाईपछि ती बालक आज डिस्चार्ज भएर घर जाँदै छन्' डा भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'जाजे बेलामा बालकले मुस्कान र थम्बस अप दिएका छन्।'
बालकका आफन्तले सुरुमा विदेशमा प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेका थिए। प्रधानमन्त्री ओलीकै पहलमा टिचिङमा प्रत्यारोपण गरिएको डा भण्डारीले बताए।
प्रत्यारोपणमा यसपालि पनि 'फोर्टिस इण्डिया' बाट महत्वपूर्ण सहयोग पाएको उनले उल्लेख गरे। डा भण्डारीले फोर्टिसका डा विवेक भिज र उनको टिमलाई पनि धन्यवाद दिएका छन्।