सन्दर्भ: विश्व स्वास्थ्य दिवस
आज अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवस। यस वर्ष दिवसको नारा 'स्वस्थ विश्वका लागि समतामुलक स्वास्थ्य सेवा' रहेको छ। दिवसको अवसरमा स्वास्थ्यखबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलले नेपालस्थित विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डवसँग विशेष कुराकानी गरेका छन्।
यसपटकको विश्व स्वास्थ्य दिवसको नारा 'स्वस्थ विश्वका लागि समतामुलक स्वास्थ्य सेवा' रहेको छ। यो नारा रोज्नुको पछाडिको कारण के हो जस्ता लाग्छ?
परिचय कार्यक्रमा तपाईंले भन्नु भएको थियो – यो स्वास्थ्य दिवस किन ? सन् १९४८ को स्थापनाबाटै शुरू गरौं, त्यसबेला विश्व स्वास्थ्य दिवस मनाउने संकल्प पारित गरियो, र विश्वका लागि महत्वपूर्ण रहेको स्वास्थ्य सवालमा प्रकाश पार्ने उद्देश्यले खास विषय छनौट गर्ने निर्णय गरियो। यो वर्षको विषय स्वस्थ विश्वका लागि समतामूलक स्वास्थ्य सेवा अहिलेको लागि उपयुक्त छ, किनकि कोभिड १९ ले धनी र गरिब राष्ट्रहरू बीच र राष्ट्रभित्रै पनि धनी र गरिब बीच रहेका असमानताहरू बाहिर ल्याएको छ। असमता किन एउटा सवाल हो र कोभिड १९ को लागि बलियो ठोस प्रणाली हामीसँग रहेको सुनिश्चित गर्न समताले किन महत्व राख्छ भन्ने प्रकाश पारेको छ। किनकि अहिले के स्पष्ट भइसकेको छ भने एउटा देशमा मात्र कोभिड १९ नियन्त्रण गरेर यो महामारीको अन्त्य हुने छैन, यसलाई समान रूपमा सम्बोधन गरिनुपर्छ। हामीले परीक्षण, उपचार र खोपमा पहुँचको सवाललाई सम्बोधन नगरेसम्म यो अन्त्य हुनेवाला छैन।
यो कोभिड १९ ले हामीलाई केही पाठ पढायो भन्ने पनि लाग्छ। स्वास्थ्य क्षेत्रको प्रणालीको केही कमजोरी पनि उदांगो पारिदिएको छ। के के कमजोरी उजागर गरिदियो जस्तो लाग्छ?
यसले दिएको एउटा ठूलो शिक्षा के हो भने हरेकले मिलेर कार्य गर्नुपर्छ। संघीय संरचनामा पनि राष्ट्रिय, प्रदेश र पालिका सरकार सबैले मिलेर कार्य गर्नुपर्छ, किनकि एक्लाएक्लै यो महामारीको सम्बोधन र नियन्त्रण गर्न सक्दैनन्। तीनवटै तहबीच राम्रो समन्वय हुनु जरुरी छ। नेपालले केही हदसम्म आफ्नो समन्वयात्मक भूमिकाले यो देखाएको छ। पालिका, प्रदेश र राष्ट्रिय तहको कार्यमा राम्रो समन्वय भएका छन् भन्ने सुनिश्चित गर्न स्वास्थ्य क्लस्टरको बैठकको रूपमा स्वास्थ्य मन्त्रालय र साझेदारहरूको समन्वय संयन्त्रको स्थापना भएको छ। विश्व स्वास्थ्य संगठन स्वास्थ्य क्लस्टर बैठकको सहअध्यक्ष हो। यी समन्वयका पक्ष राम्रोसँग गरिएका छन्। त्यसैगरी, आपतकालीन पूर्वतयारी र प्रतिकार्य सुदृढ बनाउने अवसर पनि रहेको छ। हालैको उदाहरणको रूपमा, जनस्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र हस्तान्तरण गर्ने कार्य भएको छ, यसमा विश्व स्वास्थ्य संगठनले प्रदेश तहमा आपतकालीन कार्यसञ्चालनलाई सुदृढ गर्न सहयोग गरेको छ।
तेस्रो, कोभिड १९ महामारी शुरू हुँदाको समयमा रहेको छ। त्यसबेला एउटा मात्र प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरिरहेको थियो। अहिले सरकारी र निजी क्षेत्रमा परीक्षण गर्न सक्ने कूल ८४ वटा प्रयोगशाला छन्। यो उल्लेखनीय वृद्धि हो। विश्व स्वास्थ्य संगठनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सुदृढ बनाउन र परीक्षणको गुणस्तर सुनिश्चित गर्न सहयोग गरेको छ। हामीले सबै तालीम प्रदान गर्ने त होइन, तर हामीले परीक्षणहरू गुणस्तरीय होस् भनेर गुणस्तर सुनिश्चित संयन्त्र विकास गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सहयोग गर्यौं। त्यसैगरी, आपतकालीन उपचार, आइसीयू उपचारको क्षमता अभिवृद्धि गर्ने र अक्सिजन, पीपीई, मास्क आपूर्तिजस्ता स्वास्थ्य बन्दोबस्ती वितरण प्रणालीलाई राम्रोसँग व्यवस्थित गरिएको सुनिश्चित गर्न सहयोग गर्यौं। शुरूमा पक्कै पनि सबै राष्ट्रहरूले समस्याको सामना गरे, तर नेपालले यो प्रक्रियालाई मूलधारमा राख्न सकेको देखिन्छ। यसबाट धेरै लाभ छन्, धेरै सिकिएको छ, र यो अगाडि पनि हुनेछ, किनकि कोभिड १९ अन्तिम महामारी होइन। हामीले यसको लागि राम्रो तयारी गर्नुपर्छ।
नेपालको सन्दर्भमा विश्व स्वास्थ्य संगठनले कोभिड महामारीका क्रममा खेलेको समग्र भूमिका सन्तोषजनक रह्यो कि कस्तो पाउनु भएको छ?
यो हामी सबैको लागि नयाँ र ठूलो महामारी भएकोले शुरूका चरणमा विश्व स्वास्थ्य संगठन लगायत हरेक संगठनहरूले कसरी सबभन्दा राम्रो प्रतिकार्य गर्ने र मुलुकहरूलाई सहयोग गर्ने भन्नेमा संघर्ष गर्नुपर्यो, तर त्यसपछि कुराहरू थप स्पष्ट हुँदै जाँदा विश्व स्वास्थ्य संगठनले समग्र पूर्वतयारी र प्रतिकार्य योजनाहरूको सम्बन्धमा बलियो प्रतिकार्य प्रदान गर्यो, मुलुकहरूले यसलाई ग्रहण गरे र यसले व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध रहेका, कर्मचारीलाई तालिम दिइएको सुनिश्चित गर्न सहयोग गर्यो। हामीले विश्व स्वस्थ्य संगठनमा एउटा खुला मञ्चको उद्घाटन गर्यौं जसमा ५० भन्दा बढी भाषामा तालिम उपलब्ध थिए। नेपालमा पनि प्रयोशाला सुदृढीकरण, केसको जाँच निगरानी, सम्पर्कमा आएका व्यक्तिको खोजी कार्यका सम्बन्धमा स्वास्थ्यकर्मीहरूलाई तलिम दिइयो। यी सबै विश्वव्यापी थिए र यसमा हामीले केही नतिजा हासिल गरेको देख्न सक्छौं, महामारीको राम्रो व्यवस्थापन भएका छन्, मृत्युदर १ प्रतिशतको आसपासमा छन्। किनकि हामीले यो गर्न चाहेका थियौं, केसहरूको संख्या धेरै भए पनि मृत्युदर न्यून रहोस् भन्ने सुनिश्चित गर्न चाहेका थियौं, र उनीहरूले यी कुराहरूको व्यवस्थापन गर्न सक्षमम भएका छन्। पक्कै पनि यसमा हामीले सिक्न सक्ने अरु धेरै छन्।
जनतामा यतिबेला कोभिड१९ को अर्को लहर आउँछ कि भन्ने डर छ। अर्को तर्फ भ्याक्सिन आएको छ भनेर आशा पनि छ। तर सँगसँगै भ्याक्सिनका विषयमा जिज्ञासा, अन्यौल र प्रश्नहरु पनि आइरहेको छ। फरक फरक धारणा आइरह्यो भनेर पनि भनिन्छ। यसको विषयमा प्रष्ट पारिदिनुहोस् न?
पहिले म केसहरू वृद्धिको दोस्रो लहरको सम्भावनामा रहेका प्रश्नहरूको सम्बोधन गर्नेछु। तपाईंले सुन्नु भएको होला धेरै प्रकारका प्रजातिहरू देखिएका छन्, तिनले भारत लगायत विश्वभरि केसहरूमा तीव्र वृद्धि गराइरहेका छन् र अहिले नेपालमा पनि केसहरू वृद्धि हुन थालेका छन्। यसले यो विश्व स्वास्थ्य दिवसको विषय स्वस्थ विश्वको लागि समतामूलक स्वास्थ्यसँग ल्याएर जोड्छ। यदि तपाईंले भाइरसलाई फैलन दिनुहुन्छ भने यसले भाइरसलाई उत्परिवर्तन हुन र नयाँ प्रजाति निर्माण गर्न मद्दत गर्छ, जुन पहिलेभन्दा सजिलै र छिटो फैलनेछन्, जुन हामीले देखेका छौं। मुलुकहरूले बुझ्नुपर्ने एउटा कुरा के भने यो भाइरसलाई विश्वभरि नै नियन्त्रण गर्नुपर्छ र जनस्वास्थ्य तथा सामाजिक उपायहरूको महत्वलाई आत्मसात गर्नुपर्छ। तर अहिले मानिसहरूबाट जनस्वास्थ्य तथा सामाजिक उपायको पालनमा धेरै शिथिलता आएको छ। त्यसैले मैले के जोड दिनुपर्छ भने हामीले अझै पनि यसको निरन्तर पालना गर्नुपर्छ, किनकि भाइरस नियन्त्रण गर्न सक्ने यो एकमात्र उपाय हो। नेपालले १० लाख जनसंख्याको लागि भारतबाट अनुदानमा खोप प्राप्त गर्नु सौभाग्यको कुरा हो। त्यसैगरी, नेपालले भारतको सिरम इन्स्टिच्यूटबाट कोभिशिल्ड खोप खरिद गरेको छ र ५.५ प्रतिशत जनसंख्यालाई खोप लगाउन सफल भएको छ, यो राम्रो संख्या हो।
उनीहरूले अवलम्बन गरेका प्रक्रिया स्वास्थ्यकर्मीलाई सुरक्षित बनाउनु र उच्च मृत्युदरको सम्भावना हुने ६५ वर्ष माथिकाको रक्षा गर्नु रहेको थियो। यो खोपको ठूलो माग, तर आपूर्ति अवस्थाको अनिश्चितताले गर्दा मानिसमा चिन्ता बढ्नु स्वाभाविक हो। यसै कारणले मुलुकहरूमा खोपको समतामूलक वितरण गरिने सुनिश्चित गर्न विश्व स्वास्थ्य संगठनले यो एक्ट एक्सलेटर र कोभ्याक्स फेसिलिटी भन्ने कुरा युनिसेफ, गाभी र सेपीसँग मिलेर निर्माण गर्यो। हालै नेपालले कोभ्याक्स फेसिलिटीबाट करिब ३८४ हजार खोप मात्राहरू पाएको छ र थप मात्राहरू आउने सम्भावनामा छन्। खोप प्राप्तिमा केही ढिलो भएको छ, तर यो प्रक्रिया चालू छ र विश्व स्वास्थ्य संगठनले अरु खोपहरू पनि उत्पादन गरिनुपर्छ, यी खोपहरू ठूलो परिमाणमा उत्पादन गर्न निर्माताहरूले अरुलाई लाइसेन्स दिइनुपर्छ र यसमा सबैको पहुँच होस् भन्ने कुरामा पैरवी गरिरहेको छ। तर अहिलेलाई नेपाल एउटा यस्तो मुलुक हो जसले खोप लगाउने कार्यमा राम्रो गरिरहेको छ र हालै अन्य देशबाट पनि खोपहरू प्राप्त गरेको छ।
यो महामारीको समयमा जनतालाई सूचना प्रवाह गर्ने क्रममा भइरहेको कामबाट यहाँ सन्तुष्ट हुनुहुन्छ?
कोभिड १९ महामारीको समयमा देखिएको एउटा सवाल सूचनाको बाढी हो। विश्वभर धेरै जानकारी उपलब्ध छन्, तर धेरै भ्रामक जानकारी पनि छन्। तसर्थ, मन्त्रालय र प्राविधिज्ञहरूले समस्याहरू के हुन् भन्ने स्पष्ट सञ्चार गर्नु महत्वपूर्ण छ र शुरूमा सबैको लागि यो महामारी नयाँ हुँदा हरेक मुलुकले प्रारम्भिक चरणहरूमा भाइरस बारेका प्रमुख सवालहरू सञ्चार गर्ने कुरामा, यसको रोकथामका लागि के गर्न सकिन्छ भन्नेमा संघर्ष गर्नुपर्यो, तर बिस्तारै विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले पनि नियमित प्रेस विज्ञप्ति, पत्रकारहरूको लागि सत्रहरूको संचालनमा धेरै कार्य गर्यो। त्यसैगरी फेसबुक, ट्वीटर, व्हाट्सएप, भाइबर जस्ता विभिन्न सामाजिक मञ्चहरूसँग सहकार्य गरी यी सञ्चार माध्यममहरूको उपयोग गरी सूचनाको स्पष्ट सञ्चार गर्ने कुराको सुनिश्चित गरियो। पक्कै पनि चुनौतीहरू धेरै रहेका छन् तर पनि तिनको सञ्चार गर्ने प्रयास भएका छन्। सही सन्देशहरू सबभन्दा तल्लो समुदाय तहमा सञ्चार गरिएको छ भन्ने निश्चित गर्न र सूचना दिने मात्र नभएर समुदायलाई पनि यस सवालमा कसरी सहभागी गराउने भन्ने कुरा निश्चित गर्न सँधै नसकिएको हुन सक्ला, किनकि सबैले आफ्नो जीविकोपार्जन गर्नुपरेको छ, केही चरणका लकडाउन भएका छन्, उनीहरूले जागिर गुमाएका छन् र यसबाट गरिब र लाभबाट वञ्चितहरू धेरै प्रभावित भएका छन्। तर पनि हामीले स्पष्ट सञ्चारलाई जारी राख्नुपर्छ, निश्चित अवसरहरू पाउने अवस्थाबाट वञ्चित रहेका मानिसको लागि अवसर प्रदान गर्नुपर्छ, यो महामारीबाट पार पाउन आवश्यक सहयोग गर्नुपर्छ र उनीहरूको समग्र स्वास्थ्य अवस्थामा सुधार गर्नुपर्छ।
नेपालमा यहाँको कार्यकालको मननयोग्य योजनाहरु के के रहनेछन्?
यहाँ आउने विश्व स्वास्थ्य संगठनको हरेक प्रतिनिधिको गर्नुपर्ने काम हुन्छ र हामीले यो गर्ने तरिका हुन्छ। व्यक्तिगत रूपमा म धेरैजसो स्वास्थ्य मन्त्रालय, अन्य साझेदारहरू र सरकारसँग मिलेर स्वास्थ्य मन्त्रालयलाई सहयोग गर्न कार्य गरेको हुन्छु। मेरो कार्यालय भित्र पनि एउटा टीम छ जहाँ मानिसहरूको मसँग पहुँच हुन्छ र ठोस प्राविधिक कार्यमा केन्द्रित भइन्छ। यो भनेको ती क्षेत्रमा कार्यको सुनिश्चित गर्नु हो जसमा प्राथमिक उपचारलाई सुदृढ गर्ने, सर्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न कार्य गर्ने र विभिन्न प्राविधिक प्याकेजहरू जस्तै आधारभूत स्वास्थ्य प्याकेज, आपतकालीन स्वास्थ्य प्याकेजहरूको विकासमा सहयोग गर्ने रहेका छन्, किनकी नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवाहरूको साथै आपतकालीन स्वास्थ्य सेवाहरू निःशुल्क उपलब्धि गराइनेछ भन्ने कुराको सुनिश्चित गरेको छ। यसैको आधारमा तयार गरिएको जनस्वास्थ्य ऐनले धेरै महत्वपूर्ण कुराहरू स्पष्ट रूपमा प्रस्तुत गरेको छ। नेपाल दिगो विकास लक्ष्यहरू र सर्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्ने कुरामा प्रतिबद्ध छ।
हामी त्यस मार्गमा कार्य गर्नेछौं र त्यस क्षेत्रमा गरिएका केही महत्वपूर्ण कार्यमा स्वास्थ्य लगानी रणनीति, हामीले स्वास्थ्य क्षेत्रमा कसरी लगानी गर्नेछौं भन्ने कुरा, स्वास्थ्य रणनीतिको लागि जनशक्ति विकास छन्। अहिले चासोको रूपमा रहेको एउटा क्षेत्र नसर्ने रोगहरू हो। हालैको तथ्यांकले ६० प्रतिशत भन्दा धेरै मृत्यु नसर्ने रोगका कारण भएका छन्, अर्थात मुटु रोग, फोक्सो रोग, मधुमेह, श्वासप्रश्वास समस्याले भएका छन्। मृत्युसँग जोडिएका जोखिम कारकहरू आम रूपमा देखिने सुर्तीजन्य पदार्थ प्रयोग, मदिरापान, शारीरिक व्यायामको कमी, अस्वस्थकर खानपान हुन् र यसको लागि सम्पूर्ण समाज, सम्पूर्ण बहुपक्षीय पहलको आवश्यकता पर्दछ र मेरो प्रयास भनेको यो क्षेत्रमा प्रगति निर्माण गर्नु हुनेछ जसमा जोखिम तत्वहरू न्यून गर्ने, राष्ट्रिय र प्रदेश दुवै तहका सरकारलाई क्षमता विकासमा सहयोग गर्ने, र अहिले कोभिड १९ महामारीको समयमा बढेको ममानसिक स्वास्थ्यको महत्वलाई सम्बोधन गर्ने पनि रहनेछ। हामी अहिले राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति र कार्ययोजनाको विकासमा सहयोग गर्ने प्रक्रियामा छौं। अर्को क्षेत्र भनेको मलेरिया नियन्त्रण हो। तसर्थ, मेरो कार्यकालमा मैले आफूलाई केन्द्रित गर्ने यी प्रमुख क्षेत्रहरू हुन्।
नेपालको स्वास्थ्य क्षेत्रमा चुनौतीका चाङ छन्। संघीय संरचना अनुसार नेपालमा अहिले तीन तहको सरकार छ। तर समनव्यको स्पष्ट अभाव छ भनेर जनप्रतिनिधीले नै भनिरहेका छन्। चार नम्बरको गियरमा काम अगाडि बढ्नु पर्नेमा न्यूट्रलमा बसेको छ। स्वास्थ्य बिमा, शुल्क लगायतका विषयमा चुनौती नै छ। यसमा सुधारका लागि यहाँको के भूमिका रहन्छ?
हरेक मुलुक प्रक्रियाको चरणबाट अघि बढ्छ र त्यहाँ शुरूवात अवस्था हुन्छ। स्वास्थ्य उपचारको सम्बन्धमा नेपालको संविधान धेरै बलियो छ, जनस्वास्थ्य ऐन बलियो छ, अन्तर्राष्ट्रिय लक्ष्यप्रति तिनको प्रतिबद्धता बलियो छ, सर्वव्यापी स्वास्थ्य पहुँचको लागि गरिएका प्रतिबद्धता बलियो छ। यसरी, तिनीहरूले राष्ट्रिय, प्रदेश र पािलका तहमा स्रोतहरूको वितरण हुनेछन् भन्ने सुनिश्चित गर्ने एउटा शुरूवात निर्माण गरेका छन् र तिनीहरूले पालिका तह, प्रदेश तह र राष्ट्रिय तहमा राम्रो योजना बनाउने क्षमता सुदृढ गर्ने प्रक्रियामा छन् र यी सबै क्षेत्रभरि समन्वय सुदृढ गर्ने प्रक्रियामा छन्। कोभिड १९ महामारीले चाहना भए यो कसरी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। हाम्रो भूमिका भनेको आवश्यक निर्देशिका एवम् उपचार प्रोटोकलहरूको विकास गर्न, क्षममता विकासको सुनिश्चित गर्न र जनशक्तिको समतामूलक वितरण, राम्रोसँग क्रियाशील स्वास्थ्य उपचार संरचनाहरूको लागि पैरवी गर्न र त्यस समग्र प्रक्रियासँग सबन्धित मार्गदर्शनमा सहयोग गर्नु हुनेछ।
यी सवालहरूका लागि सम्पूर्ण सरकार, सम्पूर्ण समाज पहल चाहिन्छ, स्वास्थ्य भनेको स्वास्थ्य मात्र होइन, यो अन्य धेरै तत्वहरूमा निर्भर रहन्छ जसले सबै नीतिमा स्वास्थ्य विषय रहेको सुनिश्चित गर्दछ र हालैका छलफलहरूप्रति म खुशी छु जुन लगानी रणनीतिको सम्बन्धमा, जनशक्तिको सम्बन्धमा वा नसर्ने रोगहरूको लागि बहुक्षेत्रीय कार्यको सम्बन्धमा मैले गरेको छु। यी सवालहरू छलफल गरिएका छन् र तिनलाई कसरी लिनुपर्छ भन्ने कुरा भएका छन्। नेपाल आगाडि बढ्ने असल मार्ग मैले देखेको छु, यसमा विश्व स्वास्थ्य संगठनले सहयोग गर्नेछ, र संयुक्त राष्ट्रसंघीय प्रणाली भित्र रहेर अन्य राष्ट्रयसंघीय निकायसँग मिलेर कार्य गर्नेछ, उदाहरणको लागि खोप कार्यक्रमको लागि युनिसेफसँग, प्रजनन, मातृ तथा बाल स्वास्थ्यका सवालमा संयुक्त राष्ट्रसंघ जनसंख्या कोषसँग। हामी संयुक्त राष्ट्रसंघको अंगको रूपमा सहयोगका लागि मिलेर कार्य गर्नेछौं, साथै यस मुलुकमा स्वास्थ्य सहयोग प्रदान गर्ने जीआइजेड, राष्ट्रिय स्वास्थ्य क्षेत्र कार्यक्रम, विश्व बैंक र अन्य धेरै साझेदारहरूसँग पनि कार्य गर्नेछ। मैले शुरूमा भने झैं नेपालको जनसंख्याको स्वास्थ्य सुधारमा सहयोग गर्न हामीले समन्वयात्मक तरिकाले एकसाथ धेरै कार्यहरू गर्न सक्छौं।
नेपालमा आएर सेवा सुरु गरेपछि यहाँले हालसम्म नेपालको स्वास्थ्य सेवाको क्षेत्रलाई कसरी हेरिरहनु भएको छ र कस्तो पाउनु भयो?
नेपालमा ६० वर्षभन्दा लामो इतिहास रहेको छ र यो प्रणाली अघि बढिरहेको छ, विकास भइरहेको छ। मैले कार्य गरेका अन्य मुलुकहरू, साना मुलुकहरू सन् २०0२ मा स्वतन्त्र भएका थिए र तिनले शून्यबाट आफ्नो स्वास्थ्य प्रणालीको विकास गर्नुपरेको थियो। त्यो खास क्षेत्रमा मैले धेरै कार्य गरें, केही नयाँ कुरा निर्माण गर्ने सम्बन्धमा कार्य गरें। यहाँ पहिले नै पूर्वाधारहरू र स्वास्थ्य प्रणालीको व्यवस्था छ, यद्यपि संघीय संरचनाको सम्बन्धमा चुनौतीहरू छन्। अब, एउटा नयाँ चुनौती भनेको सर्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न प्राथमिक स्वास्थ्य उपचारलाई हामीले सुदृढीकरण गरेको सुनिश्चित गर्दै विश्व स्वास्थ्य संगठनले व्यक्तिगत रूपमा कसरी सहयोग गर्न सक्छ भन्ने हो। विभिन्न मुलुकले फरक अवसर र विज्ञता उपलब्ध गराउँछन्। स्वास्थ्य क्षेत्रमा धेरै राम्रो विज्ञहरू रहेको पाउँदा म धेरै खुशी छु र त्यो देख्दा म सन्तुष्ट छु किनकि म जहाँबाट आएँ, टिमोर–लेस्टेबाट, त्यहाँ जनशक्ति भर्खर विकास भइरहेका थिए। यहाँ हामीले धेरै क्षेत्रहरूमा विज्ञ पाएका छौं र उनीहरूसँग मिलेर कार्य गर्न पाउनु र स्वास्थ्य सवाललाई हामीले सम्बोधन गर्ने सुनिश्चित गर्नु राम्रो कुरा हो।
तपाईंको आफ्नो मूलभुत सिद्धान्त के के छन्? जसले यो संस्थामा निर्देशन दिन वा निर्णय गर्न सक्नुहुन्छ?
व्यक्तिगत रूपमा मेरो लागि महत्वपूर्ण भनेको निष्ठा हो र यो धेरै महत्वपूर्ण छ। त्यसपछि हामीले गर्ने कार्यप्रतिको प्रतिबद्धता र त्यसको लागि पूर्ण प्रतिबद्धता। त्यसलाई मूल्य तोक्न सकिन्न, तर धेरै महत्वपूर्ण छ। अनि सबैलाई सुन्न सक्ने क्षमता, सबैको दृष्टिकोण लिनसक्ने। म एउटा गरिब परिवारबाट आएको हो, मेरो शिक्षामा सहयोग गरिएको थियो, किनकि मेरो परिवार सानो गाउँमा बसोबास गथ्र्यो, र मेरो जेठो दाई धेरै तीक्ष्ण हुनुहुन्थ्यो। नौ कक्षामा उहाँको एउटा शिक्षकले हाम्रो बुबाआमालाई मेरो दाई तीक्ष्ण भएकोले उहाँलाई पुणे पठाउनुपर्छ भनी सल्लाह दिए, जुन शिक्षाको ठूलो अवसर भएको सहर हो। उहाँको १० कक्षाको परीक्षामा उहाँ पुणेभरि पहिलो र महाराष्ट्रभरि ५औं हुनुभयो। त्यसपछि उहाँले छात्रवृत्ति पाउनुभयो र उहाँको छात्रवृत्तिको पैसा र मेरो बुबाको तलबबाट उहाँहरूले पुणेमा एउटा घर लिन सफल हुनुभयो।
यसरी हाम्रो परिवार बसाइँ सर्यो र मेरो अर्को दाई पनि डाक्टर बन्नुभयो, म डाक्टर बनें र मेरो अर्को भाइ बैंक व्यवसायी भए। शिक्षा धेरै महत्वपूर्ण छ र यो स्वास्थ्यको एउटा निर्धारक हो। केही कुरा छन् जसलाई म अवलम्बन गर्छु, र सबैसँग कार्य गर्ने, सबैसँग परामर्श गर्ने, यो देशको संस्कृति बुझ्ने, यो देशको भाषा बोल्ने प्रयास गर्छु। टिमोर–लेस्टेमा पनि मैले मेरो भाषण सकेसम्म स्थानीय भाषा तेतुनमा दिने गर्थें। म यहाँ नेपाली भाषा सिक्न आएको होइन। म यहाँ यो देशको धेरै सवालहरू बुझ्न आएको हुँ, विशेषगरी स्वास्थ्य सवालहरू र मानिसहरूसँग कार्य गर्न, घनिष्ठ सम्बन्ध बनाउन यहाँ छु किनकी त्यसैको आधारमा मात्र तपाईंले थप कार्य र यो देशलार्य राम्रो तरिकाले सहयोग गर्न सक्नुहुन्छ।
तपाईंका व्यक्तिगत रुचीहरु के के हुन्? के ती रुचीहरु नेपालमा पुरा हुनसक्लान्?
मैले केही रुचिहरू शुरू गरिसकेको छु। एउटा रुचि फोटो खिच्ने हो, विशिष्ट उपकरण त प्रयोग गर्दिन, तर मेरो सेलफोनबाट मात्र। नेपाल आउनु ठीक अघि मैले नोबेल शान्ति पुरस्कारबाट सम्मानित डा. रामोस होर्टासँग फोटो प्रदर्शनी गरेको थिएँ। उनी सूर्यास्तको फोटो लिने गर्थे, म सुर्योदयको र मेरो बिदाइको रूपमा हामीले संयुक्त फोटो प्रदर्शनी गर्यौं। मैले त्यो जारी राखें र मेरो सामाजिक सञ्जालको पेज फलो गर्नुहुन्छ भने तपाईंले धेरै फोटोहरू देख्न सक्नुहुन्छ। त्यो मैले निरन्तरता दिने एउटा हो। म यात्रा गर्न मन पराउँछु, तर कोभिड १९ को कारणले यो देशमा धेरै यात्रा गर्न पाएको छुइन। म पकाउन मन पराउँछु र म समूहमा पनि पकाउन मन पराउँछु ताकि हामीले विभिन्न परिकारको स्वाद लिन सकौं, तर यो पनि कोभिड १९ को कारणले सीमित भएको छ। म दालभात पकाउन सक्छु तर म खास खाना खोज्दैछु जुन म पकाउन सकौं। मैले मन पराएको एउटा परिकार नेवारी पिरो आलु हो, र यो कसरी पकाउने भन्ने मैले सिकेको छु। यी मैले शुरू गरेका मुख्य रुचिहरू हुन्। पैदल कुराकानी गर्नेलाई पनि बिर्सन हुँदैन, जुन मेरो रुचि हो र मेरो कामको हिस्सा पनि हो। जब कुनै रुचि तपाईंको कामको हिस्सा हुन्छ, यो धेरै राम्रो हो।
हामी यहाँको पेशागत यात्राका विषयमा पनि जान्न चाहन्छौं। कस्तो पारिवारिक पृष्ठभूमीबाट यहाँसम्म आइपुग्नु भएको हो?
मलाई यहाँ मौका दिनुभएकोमा धन्यवाद। मैले मेडिकल स्कुल जाने निर्णय गरे, यो मुख्यतः परिवारमा रहेको अनुभवको कारण थियो किनकि मेरो दुईजना दाजुहरू डाक्टर हुनुहुन्छ। एकजना क्लिनिकल मेडिसिनमा कार्य गर्नुहुन्छ र अर्को एकजना जनस्वास्थ्यमा, जसले मेरो ध्यान खिच्यो। हामी चारजना दाजुभाई छौं, जसमा ३ जना डाक्टर छौं, त्यसले मलाई मेरो निर्णय लिन मद्दत गर्योछ। पढाइ सकेपछि मैले आयोडिन कमीले हुने समस्याहरू सम्बन्धी ग्रामीण क्षेत्र परियोजनामा कार्य गरें। त्यो समयमा यो देशमा थाइराइड ग्रन्थि सुन्निएर हुने गलगाँडको समस्या धेरै थियो। मेरो दाई पनि नेपालमा नै कार्यरत हुनुहुन्थ्यो र अखिल भारतीय चिकित्सा विज्ञान संस्थान मार्फत सहयोग गरिरहनु भएको थियो। त्यसले जनस्वास्थ्यको कार्यमा मेरो रुचि बढायो। त्यसपछि मैले जनस्वास्थ्यको क्षेत्रमा केही स्थलगत अनुभव बटुल्ने निर्णय गरें। अनि म मेडिकल अधिकृतको रूपमा एउटा अध्ययनको हिस्सा बनें र डिमेन्सिया वा अल्जाइमर रोग सम्बन्धी इन्डो–युएस क्रस-नेशनल स्टडीको संयोजक भएँ। मैले दुईवटा जनसंख्याको तुलना गरें : एउटा भारतको बल्लभगढको ग्रामीण जनसंख्या र अर्को मोनोन्गाहेला उपत्यकामा पिट्सवर्गको जनसंख्या। यो तुलनात्मक अध्ययन भण्डै १० वर्षको थियो, जहाँ पहिलो ४ वर्ष संज्ञानात्मक स्क्रीनिङ साधनहरू, जस्तै हिन्दी मेन्टल स्टेट एक्जाम, वृद्धवृद्धामा हुने डिप्रेसनको स्तर (हिन्दी) र संज्ञानात्मक स्क्रीनिङ ब्याट्री जस्ता साधनहरूको विकासमा बित्यो।
ती समयमा म धेरैजसो दैनिक फिल्डको भ्रमण गर्थें जहाँ हामीले नियमित रूपमा १८ गाउँहरू समेट्नु थियो र केही स्क्रीनिङ परीक्षण विकासको अनुभव हासिल भयो जस्तै हिन्दी मेन्टल स्टेट परीक्षण वा ग्रामीण क्षेत्रका निरक्षर वृद्धवृद्धा, हामीले परीक्षा कसरी लिने, उदाहरणको लागि ७ अंकको क्रमबद्ध घटाउ। हामीले उनीहरूलाई ठोस उदाहरण दियौं, जस्तै तपाईंसँग गोजीमा २० रूपैयाँ छ, तपाईंलाई जानको लागि ६० रूपैयाँ लाग्छ, तपाईंसँग कति बाँकी छ, अर्को दिन कति र यसरी नै। यी प्रत्येक प्रश्नको लागि प्रत्येक संज्ञानात्मक स्क्रीनिङ ब्याट्रीको अनुकूलन प्रक्रिया भएर जानु धेरै रोचक कुरा थियो। मेरो जीवनको त्यो समयले मलाई इपिडिमियोलोजी, जनस्वास्थ्य विषयमा धेरै रुचि जगायो। यो मेरो जीवनको महत्वपूर्ण मोड दियो जहाँ मैले अमेरिका गएर जनस्वास्थ्य अध्ययन गर्ने अवसर र बुढ्यौली अवस्था तथा मानसिक स्वास्थ्यको क्षेत्रमा २ वर्षसम्म कार्य पनि गर्न पाएँ।
तर त्यसपछि मलाई त्यहाँ बस्न मन लागेन, मलाई फर्केर आफ्नै क्षेत्रमा कार्य गर्ने इच्छा जाग्यो र त्यसपछि मैले विश्व स्वास्थ्य संगठनमा कार्य गर्ने अवसर पाएँ, मानसिक स्वास्थ्य र लागूपदार्थ दुव्यर्सनीको क्षेत्रमा। मानसिक स्वास्थ्य समस्याबाट प्रभावित परिवारका सदस्यहरूमा रहेका केही व्यक्तिगत अनुभवहरू र मेरो रुचिको विषयको रुपमा रहेको बुढ्यौलीको समस्याको कारणले मैले ४–५ वर्ष मानसिक स्वास्थ्यको क्षेत्रमा कार्य गरें। त्यसपछि मैले आफ्नो क्षेत्र विस्तार गर्न चाहें र केही वर्षको लागि मेडिकल जनस्वास्थ्य अधिकृतको रूपमा माल्दिभ्स गएँ, त्यसपछि नीति निर्माण प्रक्रियामा मेरो अनुभवलाई थप विस्तार गरें। अनि मैले टिमोर–लेस्टेका लागि स्वास्थ्य नीति सल्लाहकार पदमा आवेदन गरें। त्यहाँ पाँचवर्ष काम गरिसकेपछि अर्को पाँच वर्ष त्यहाँ मैले विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको रूपमा सेवा गरें। मैले टिमोर–लेस्टेमा १० वर्ष कार्य गरें। विश्व स्वास्थ्य संगठनका धेरै प्रतिनिधिहरूले आफू कुनै मुलुकको इतिहासमा सबै स्वास्थ्य मन्त्रीहरूसँग कार्य गरेका छन् भनेर भन्न सक्दैनन्। मैले एउटा मुलुकको इतिहासमा सबै स्वास्थ्य मन्त्रीहरूसँग कार्य गरेको छु किनकि पहिले स्वास्थ्य मन्त्री भएकाहरू फेरि स्वास्थ्य मन्त्री भएका थिए र म पनि त्यहाँ थिएँ, त्यसले मेरो ज्ञान धेरै बढायो। त्यसपछि यो पदको लागि आवेदन गर्ने मैले अवसर पाएँ र यहाँ नेपालमा आएर काम गर्न म खुशी थिएँ। अबको केही वर्षमा हामीले नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन कसरी सबभन्दा राम्रो तरिकाले सहयोग गर्न सक्छौं भनी म हेर्दैछु।
यहाँले स्वास्थ्य क्षेत्रको विभिन्न तह र तप्कामा रहेर काम गर्नु भएको छ र अनुभव पनि छ। नेपाल कार्यालयमा कहलेबाट सेवा सुरु गर्नु भयो?
मैले अघि भने झैं स्वास्थ्य नीति सल्लाहकारपछि मैले टिमोर लेस्टेमा ५ वर्ष विश्व स्वास्थ्य संगठनको स्वास्थ्य प्रतिनिधि भएर काम गरें र त्यसपछि सेप्टेबरमा मेरो यहाँ सरुवा भयो र कोभिड १९ उत्कर्षमा रहेको बेला सन् २०२० को अक्टोबरमा मैले यहाँ नेपालमा मेरो प्रमाणपत्रहरू बुझाएँ।
के यो तपाईंको रोजाइकै देश हो?
हो। यो पदको लागि मैले आवेदन गरेको हुँ, यो मेरो छनौट थियो र भारतमा रहेको मेरो घरबाट यो नजिक पनि छ। यसै कारणले मैले यो छनौट गरें।
विश्व स्वास्थ्य संगठन के हो र यसले कसरी काम गर्छ भन्ने विषयमा सर्वसाधारणले बुझ्ने गरी बताइदिनुहोस् न?
संयुक्त राष्ट्रसंघीय प्रणालीमा विश्व स्वास्थ्य संगठन स्वास्थ्य क्षेत्रको समन्वय गर्ने एउटा प्रमुख निकाय हो। स्वास्थ्यको लागि यो प्रमुख प्राविधिक निकाय हो। विश्व स्वास्थ्य संगठनको संरचनामा यसको प्रधान कार्यालय जेनेभामा छ र विश्वको पाँच फरक क्षेत्रमा पाँचवटा क्षेत्रीय कार्यालय छन्। नेपाल विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्र अन्तर्गत पर्दछ। विश्व स्वास्थ्य संगठनले यसको सदस्य राष्ट्रहरूसँग विश्व स्वास्थ्य सभामार्फत कार्य गर्दछ। १९४ राष्ट्रहरू विश्व स्वास्थ्य संगठनको सदस्य छन् र विश्व स्वास्थ्य संगठन चैं सचिवालय हो। हरेक वर्ष विश्व स्वास्थ्य सभा हुन्छ जहाँ विभिन्न स्वास्थ्य सवालहरूमा नीति बनाइन्छ र संकल्पहरू पारित हुन्छन्, मुलुकको लागि र विश्व स्वास्थ्य संगठनको लागि कार्ययोजना बन्छन्। ३४ सदस्य रहने कार्यकारी बोर्डमा सदस्य राष्ट्रहरूलाई विज्ञको रूपमा नियुक्त गरिन्छ। तिनीहरूले विश्व स्वास्थ्य सभालाई परामर्श र प्राविधिक सल्लाह प्रदान गर्छन् र यसको निर्णयलाई अघि बढाउँछन्। त्यसपछि क्षेत्रीय समिति हुन्छन् जहाँ विश्व स्वास्थ्य संगठनको विज्ञको रूपमा क्षेत्रीय निर्देशकको चयन हुन्छ। क्षेत्रीय समितिहरूको बैठक सामान्यतया सेप्टेम्बर महिनामा बस्छ, जहाँ विश्व स्वास्थ्य सभाको आधारमा क्षेत्रीय संकल्पहरू तयार गरिन्छन्। त्यसपछि कन्ट्री अफिस आउँछ जहाँ स्वास्थ्य मन्त्रालयसँग समन्यव गरी विकास गरिएको विश्व स्वास्थ्य संगठनको कन्ट्री कार्यसञ्चालन रणनीति हुन्छ र यसले स्वास्थ्य मन्त्रालयको प्राथमिकताका कार्यक्रमहरू कार्यान्वयनमा सहयोग गर्दछ। यो संरचनाले यसरी नै कार्य गर्दछ।
विश्व स्वास्थ्य संगठनले आफैं कार्यक्रमहरु कार्यान्वयन पनि गर्छ कि यसले सरकारलाई सघाउँछ मात्र? यसलाई अलि प्रष्ट पारिदिनुहोस् न।
विश्व स्वास्थ्य संगठन साधारणतया कार्यान्वयन गर्ने निकाय होइन, तर कहिलेकाहीं हामी सरकारसँग मिलेर कार्यक्रमहरूको कार्यान्वयनमा पनि कार्य गर्छौं। उदाहरणको लागि, कोभिड १९ विरुद्धको र अन्य खोप अभियानमा हाम्रो कर्मचारीहरूले स्वास्थ्य मन्त्रालयसँग निकटमा रही कार्य गर्दै स्थलगत क्षेत्रमा सो अभियानको कार्यान्वयनमा सहयोग गर्दछ। समग्रमा यसले सरकारलाई प्राविधिक सल्लाह प्रदान गर्दछ। यसले विश्वभरिबाट पछिल्लो वैज्ञानिक प्रमाण संग्रह गर्दछ, सम्बन्धित मुलुकमा उक्त प्रमाण अनुकूलन गर्न मद्दत गर्दछ, नीति, रणनीति र योजनाहरूको विकासमा सहयोग गर्दछ, तथ्यांक संकलन र विश्लेषणको सुनिश्चित गर्न क्षमता विकासमा र अन्य सहयोग गर्दछ। यसको सल्लाहकार भूमिका बढी हुन्छ, तर कोभिड १९ जस्ता केही परिस्थितिमा र अन्य खोप अभियानमा वास्तविक कार्यान्वयनमा सहयोग गर्न हामीले धेरै कर्मचारीहरू पनि खटाउनुपर्ने हुन्छ।
यो ७३ वर्षको दौरानमा विश्व स्वास्थ्य संगठनको सबैले स्मरण गर्नुपर्ने मुख्य उपलब्धिहरु के के हुन्?
सम्पूर्ण विश्वमा विश्व स्वास्थ्य संगठनको प्रमुख भूमिका प्राथमिक स्वास्थ्य उपचार र सर्वव्यापी स्वास्थ्य पहुँचको भूमिकामा जोड दिनु रहेको छ। हाम्रो अत्यावश्यक औषधिको सूची सरकारको लागि आफ्नो राष्ट्रिय अत्यावश्यक औषधि सूची पहिचान गर्ने वा विकास गर्ने एउटा महत्वपूर्ण टूल हो। बिफरको उन्मुलन एउटा राम्रो उदाहरण हो। अब हामी पोलियो उन्मुलनतर्फ पनि अघि बढ्दैछौं जहाँ पोलियोको समस्या भएका केही मुलुकहरू मात्र बाँकी छन्। यसमा केही महत्वपूर्ण उपलब्धिहरू हासिल भएका छन्, तर समग्रमा हामी जीवनको अवधिभरि कार्यक्रम प्रवाहममा सहयोग गर्दछौं, जुन गर्भवती महिला, बालबालिका, किशोरकिशोरी, एचआईभी, टीबी, मलेरिया, हेपाटाइटिस जस्ता सरुवा रोगहरू जस्ता क्षेत्रबाट रहन्छ। नसर्ने रोगहरू अहिले वृद्धि भइरहेको छ, त्यसैले यो क्षेत्रमा हामी रणनीति, नीति र कार्ययोजना विकासमा सहयोग गर्दछौं, नसर्ने रोगहरूको रोकथामका लागि प्राथमिक स्वास्थ्य उपचारका लागि प्याकेजहरू विकास गर्दछौं र स्वास्थ्यको सामाजिक निर्धारकहरूको सम्बोधन गर्न पनि सहयोग गर्दछौं।
नेपालमा विश्व स्वास्थ्य संगठनले कहिलेदेखि सेवा दिइरहेको छ र यसबाट के के उपलब्धि हासिल भएका छन्?
विश्व स्वास्थ्य संगठनले नेपालमा ६० वर्षदेखि सहयोग गर्दै आएको छ। यसले स्वास्थ्य मन्त्रालयलाई समग्र स्वास्थ्य क्षेत्र र उपक्षेत्रको राष्ट्रिय नीति, रणनीति र योजना बनाउन मद्दत गरेको छ। रोग विशेष कार्यक्रमहरूमा बिफर उन्मुलन, पोलियो नियन्त्रण, दादुरा उन्मुलनतर्फ प्रगति, मलेरिया नियन्त्रण, सन् २०२५ सम्ममा मलेरिया नियन्त्रण गर्ने सही मार्गमा हामी रहेको, आखाँको फूलो उन्मुलन हासिल गरिसकिएको छ। यी स्वास्थ्य मन्त्रालयलाई हामीले सहयोग गरेका विभिन्न कार्यक्रम हुन्, हामीले निरन्तर पैरवी र सहयोग गर्दै आएका छौं। नेपाल विभिन्न आपतकालीन अवस्थाप्रति उन्मुख रहेको हुँदा हामीले हालै आपतकालीन पूर्वतयारी, प्रतिकार्य, स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रहरूको स्थापना, क्षमता विकासमा सहयोग गरेका छौं। स्वास्थ्य मन्त्रालयमा कार्यरत विभिन्न माथिल्ला तहका कर्मचारीहरू र विश्व स्वास्थ्य संगठनका लागि कार्य गरेकाहरू विदेशमा तालिम लिन विश्व स्वास्थ्य संगठनको फेलोसिपमा गएका छन्। यी सबै विगत ६० वर्षदेखि हामीले स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेका सहयोगका क्षेत्र हुन्।
अन्त्यमा, तपाईं सामाजिक सञ्जालमा निकै सक्रिय हुनुहुन्छ। स्वास्थ्यसँग सम्बन्धित धेरै सूचनाहरु प्रवाह गरिरहनु भएको छ। केही अभियान नै चलाउनु पनि भएको छ। यसबारेमा प्रष्ट पारिदिनुहोस् न।
नेपालमा अहिले सामाजिक सञ्जाल धेरै लोकप्रिय छ। झण्डै ९० प्रतिशत नेपालका जनता फेसबुकमा छन् र अन्य सामाजिक सञ्जाल मन्चहरूमा पनि छन्। यदि तपाईंले राम्रो तरिकाले प्रयोग गर्नुभयो भने सामाजिक सञ्जालहरू सही सन्देशहरू प्रवाह गर्ने एउटा राम्रो माध्यम बन्न सक्छ। म के गर्न खोज्छु भने, जुन मैले टिमोर लेस्टेमा पनि गरेको थिएँ र त्यहाँ पनि ठूलो जनसंख्या फेसबुकमा सक्रिय थिए, म फेसबुकको माध्यमबाट स्वास्थ्य प्रवर्द्धनका सन्देशहरू र खोप अभियान जस्ता अभियानहरूको बारेमा पनि सन्देश प्रवाह गर्छु। मेरो मनमा सँधै रहने भनेको पैदल कुराकानी अभियान हो। नेपालमा आयुर्वेद, योग र शारीरिक गतिविधिको को राम्रो परम्परा छ, त्यसको प्रवर्द्धन गर्न हामीले स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरिरहेका छौं र यसमा गति निर्माण गर्न सामाजिक सञ्जालको ममाध्यमबाट पनि कार्य गर्दैछौं, किनकि टिमोर–लेस्टेमा हामीले हरेक शनिवार ५ जना व्यक्तिबाट पैदल कुराकानी शुरू गर्यौं जुन अन्त्यमा १ हजार मानिसको नियमित सहभागितामा पुग्यो। हामीले सामाजिक सञ्जालमा घोषणामात्र गर्यौं, हामीले नेपालमा पनि स्वास्थ्य मन्त्रालयबाट आधिकारिक रूपमा यो चाँडै शुरू गर्ने अपेक्षामा छौं। व्यक्तिगत रूपमा विश्व स्वास्थ्य संगठनको कन्ट्री अफिसले अन्य केही साझेदारहरूसँग मिलेर हामीले यो अभियानहरू शुरू गरिसकेका छौं। यी केही सकारात्मक कुरा हुन् जुन हामीले आफ्नो स्वास्थ्यको ख्याल राख्न सक्छौं भन्ने सुनिश्चित गर्नको लागि हामीले गर्न सक्ने कुरा हुन्। हाम्रो स्वास्थ्य हाम्रो आफ्नै हातमा छ। सकारात्मक सन्देशहरू प्रवाह गर्नु राम्रो हो र म त्यसमा लाग्छु। यदि तपाईंले त्यो गर्नुभयो भने, तपाईंले धेरै कुराहरू गर्न सक्नुहुन्छ।
भिडियो : निमेष जंग राई र अनुराग लम्साल