काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ संक्रमण जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।
नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न आग्रह गरेका हुन्। उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउनसक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने बताए।
भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताए। ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु- हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ, यदि हामी सावधान भएनौं भने। हामी सावधान हुनुपर्छ अहिलेदेखि भाैतिक दूरी कायम गर्ने, मास्क लगाउने,' उनले भने, 'किञ्चित हामी काभिड-१९ लाई अवसर नदिऔं। मैले भन्ने गरेको छु यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔं।’
प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानि बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए। यसअघि पनि प्रधानमन्त्री ओलीले बाफ लिने र कुल्ला गर्ने कुरामा जोड दिँदै आइरहेका थिए। यसपटक पनि उनले अम्बाको पात तातोपानीमा उमेलेर कुल्ला गर्न सुझाव दिएका छन्।
प्रधानमन्त्री ओलीले अम्बाको पात उमालेर कुल्ला गर्दा कोरोना चैट हुने भन्दै सार्वजनिक रुपमा पटकपटक भन्दै आइरहेका छन्। तर प्रधानमन्त्री ओलीले भनेझैं कुल्ला गरेको भरमा कोरोना चैट हुने कुरामा चिकित्सकहरु विश्वास गर्दैनन्। एक चिकित्सक भन्छन् 'प्रधानमन्त्रीले वैज्ञानिक रुपमा प्रमाणित नभएको विषयमा यसरी सार्वजनिक धारणा राख्नु हुँदैन।'
कोभिड-१९ विरुद्धको खोपले पनि सतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको उनले बताए। ‘अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन। भ्याक्सिनले पनि केही पर्सेन्ट सुरक्षित गर्ने हो, केही पर्सेन्ट बाँकी रहन्छ त्यही केही पर्सेन्टभित्र परियो भने गइगयो नि! त्यसकारण पूर्ण भन्ने कुरा सतप्रतिशत केही पनि छैन, तर हामीले सावधानी अपनाउनुपर्छ।’
यस्तो छ प्रधानमन्त्री ओलीले राखेको धारणा
कोभिड-१९ का सन्दर्भमा भन्न चाहन्छु। हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं। तर बाध्य भएरै ठप्प पार्नु पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने। हामी सावधान हुनुपर्छ अहिलेदेखि, दुरी कायम गर्ने, मास्क लगाउने। किञ्चित हामी कोभिड १९ लाई चान्स नदिउँ। मैले भन्ने गरेको छु यहाँबाट फर्किएपछि हातमुख राम्ररी साबुनपानीले धोऔं। अलिकति तातोपानी धारामा आउँछ। आजकाल त धारामा तातोपानी आउने बन्दोबस्त त सबैले गरेकै हुन्छ।
अलि तात्तातो पानी लिँदै, नस लिँदै नाक सफा गर्दिउँ। पहिलो गएर नाकमा बस्ने हो कोरोना त्यहीबाट फाल्दिएपछि चैट। नुनपानीले गार्गिल गर्दिनुहोस्, सकिन्छ भने अम्बाका दुइटा पात उमाल्दिउँ बेस्सरी गार्गल गरदिउँ, घाँटीमा बसेको चैट। स्टिम लिदिउँ फोक्सोबाट चैट। यति गर्दा धेरै सुरक्षित भइन्छ। अब शतप्रतिशत सुरक्षा त भ्याक्सिनले पनि गर्दैन। भ्याक्सिनले पनि केही प्रतिशत सुरक्षित गर्ने हो केही प्रतिशत बाँकी रहन्छ। त्यही केही प्रतिशतभित्र परियो भने गइगयो नि। त्यसकारण शतप्रतिशत भन्ने केही पनि छैन। तर हामीले सावधानी अपनाउन पर्दछ।