काठमाडौं- नेपालमा कोरोना भाइरसको बेलायत ‘भेरियन्ट’ बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनाको बेलायत भेरियन्ट बढेपछि मन्त्रालयले कोभिड संकट व्यवस्थापन केन्द्रलाई १० बुँदे सिफारिस गरेको छ।
मन्त्रालयले बेलायतको भेरियन्टको मात्रा बढ्दो देखिएको तथा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेकोले सम्पूर्ण शैक्षिक संस्थाहरूमा ३ हप्तासम्म अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न भनेको छ।
बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरू, शपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब स्विमिङ पुल लगायतका क्षेत्र, मन्दिर लगायत धार्मिक स्थानहरू हालको परिस्थितिलाई मध्यनजर गर्दै जनस्वास्थ्यका मापदण्ड अति कडाइका साथ पालना गरेर मात्रै सञ्चालन गर्ने अन्यथा बन्द गर्न/गराउन सिफारिस गरेको छ।
विदेशबाट फर्केपछि घरमा क्वारेन्टिन गरेका र संक्रमित भएर घरमै आइसोलेसनमा रहेकाले तोकिएका मापदण्ड पालना गर्न प्रेरित गर्ने र आवश्यक निगरानीका लागि स्थानीय तहहरूलाई अनुरोध गर्ने मन्त्रालयले भनेको छ।
रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति ९ बजे पछि कडाइका साथ बन्द गर्न/गराउन तथा संक्रमणको अवस्था हेरी ठूला शहरहरुमा ५०० भन्दा बढी र साना शहरहरुमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमन व्यवस्थित गर्न मन्त्रालयले सिफारिस गरेको छ।