काठमाडौं - नेपालमा बुधबार एकैदिन ६ सय ३ जना कोरोना संक्रमित भेटिए। यसअघि चैत ३१ गते ५ सय १७ जना संक्रमित भेटिएका थिए। कोरोना संक्रमितको संख्या हाल दैनिक बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार चैत महिनादेखि कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको हो। गएको सातामा मात्र २ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८१ हजार ५ सय ६४ पुगेको छ।
कुन दिन कति संक्रमित भेटिए ?
चैत २६ – ३३२
चैत २७ – २८८
चैत २८ – ३३७
चैत २९ – ३०३
चैत ३० – ५५९
चैत ३१ – ५१७
वैशाख १ – ६०३
३० देखि ३९ वर्ष उमेरका व्यक्तिहरू बढी संक्रमित
हाल भेटिने गरेका संक्रमितमध्ये ३० देखि ३९ वर्ष उमेरका व्यक्तिहरू बढी संक्रमित हुने गरेका छन्। बुधबार भेटिएका कुल संक्रमितमध्ये ३० देखि ३९ वर्ष उमेरका १ सय ४३ जनामा कोरोना पुष्टि भएको छ।
२० देखि २९ वर्ष उमेरका १ सय ३८, ४० देखि ४९ वर्षका १ सय २, ५० देखि ५९ वर्षका ६९, १० देखि १९ वर्षका ४८ जना संक्रमित भएका छन्। यस्तै ६० देखि ६९ वर्षका २८, ७० देखि ७९ वर्षका व्यक्ति र ९ वर्ष सम्मका समान २२÷२२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांक छ। ८० देखि ८९ वर्षका ६ र ९० देखि सय वर्षका २ जना संक्रमित छन्।
उमेर अनुसार मृतकको संख्या नियाल्ने हो भने ६० वर्ष माथिका व्यक्तिहरूको संख्या सबैभन्दा धेरै छ। नेपालमा हालसम्म ३ हजार ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये ६० वर्ष माथिका व्यक्तिको संख्या मात्र १ हजार ९ सय २० रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, ५० देखि ५९ वर्षका ५१४, ४० देखि ४९ वर्षका ३१४, ३० देखि ३९ वर्षका १८२, २० देखि २९ वर्षका ८५, १० देखि १९ वर्षका २२ र ९ वर्ष मुनिका २४ जना मृतक रहेको मन्त्रालयले जनाएको छ।