काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि ८ बुँदे निर्णय सार्वजनिक गर्दै सो निर्णयहरु कार्यन्वयन गर्न अपिल गरेको छ।
मन्त्रालयमा बिहीबार बसेको सचिवस्तरको बैठकले विभिन्न ८ बुँदे निर्णय गर्दै सो निर्यणहरु कार्यन्वयन गर्न सबै नागरिक तथा सरोकारवाला निकायलाई अपिल गरेको हो।
बालबालिका, युवा वर्गमा संक्रमण तथा मृत्युदर बढ्दै गएकाले संक्रमण नियन्त्रण गर्न निकै नै चुनौतिपूर्ण हुनसक्ने स्वास्थ्य मन्त्रालयको ठहर छ।
कोरोना संक्रमण न्यूनीकरणका लागि सबै नागरिक तथा सरोकारवाला निकायहरु सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबाट जोगिन जनस्वास्थ्यको मापदण्ड पालना गर्न र गराउन, अति प्रभावित १४ जिल्लाका विद्यालय बन्द गर्न, बढी भीडभाड हुने क्षेत्र तथा सेवा बन्द गर्न रात्री व्यवसायहरु बन्द गर्न तथा सबै अस्पताललाई फिवर क्लिनिक अनिवार्य रुपमा संचालन गर्न अपिल गरेको छ।
कोरोना संक्रमण बढेपछि यस्तो छ स्वास्थ्य मन्त्रालयको ८ बुँदे अपिल
१) सबै नागरिकहरुमा कोभिड १९ को संक्रमणबाट जोगिन संवेदनशील बनिदिनु हुन र जनस्वास्थ्यका मापदण्डहरु कडाईका साथ पालना गर्न र गराउन भूमिका खेलिदिनुहुन र ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार बनिदिनुहुन।
२) स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा (काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरंङ, दाङ, सुर्खेत, बारा, बागलुङ) बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्री व्यवसायहरु, सात बजे पछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पुजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागि नभईदिनु हुन। तथा जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गर्न गराउन भूमिकाहरु बढाई दिनु हुन।
३) सबै अस्पतालहरुले अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्नु हुन तथा कोभिड १९ परिक्षणका लागि नमूना संकलन तथा परिक्षणको व्यवस्थापन गर्न गराउनु हुन।
४) नेपालमा विभिन्न होटेलहरुमा आई बसोबास गर्नु हुने विदेशी नागरिकहरुको सम्बन्धमा गेष्ट रजिस्ट्रेशन सिस्टम चुस्त दुरुस्त बनाई काम गर्नु हुन तथा पीसीआर नतिजा नेगेटिभ आएको अवस्थामा मात्रै होटलमा बास राख्नु हुन।
५) नियमित रुपमा अस्पतालहरुमा सेवा लिन आइरहेका सेवाग्राहीहरुलाई कोभिड १९ संक्रमण पुष्टि भएका आधारमै मात्र अन्य अस्पतालहरुमा पठाउने गरेर अनावश्यक दुःख हुने कामहरु नगराऔं नगरौं।
६) सबै सरकारी अस्पतालहरुले कम्तीमा पचास प्रतिशत वेडहरु कोभिड-१९ संक्रमितलाई व्यवस्थापन गर्न छुट्याएर तोकिए अनुसार निःशुल्क सेवा प्रवाह गरौं।
७) नीजि प्रयोगशाला तथा अस्पतालहरुले कोभिड १९ को परीक्षण तथा उपचारका लागि तोकिएको शुल्क (पीसीआर परीक्षणका लागि दुई हजार रुपैयामा नबढाई तथा संक्रमितहरुको औषधि बाहेक उपचारका लागि संक्रमणको जटिलताका आधारमा दैनिक सामान्यलाई पैतिस सय, मध्यमलाई सात हजार र जटिललाई पन्ध्र हजारमा ५०% थप भन्दा नबढ्ने गरी) मा उपचार बढी नहुने गरी व्यवस्था गर्नु हुन।
८) बालबालिका, गर्भवती, सुत्केरी महिला, अपांगता भएका व्यक्तिहरु, जेष्ठ नागरिकहरुको कोभिड-१९ परीक्षण तथा उपचारमा उच्च प्राथमिकता दिनु हुन।