काठमाडौं– सरकारले ४० देखि ५९ वर्ष उमेर समूहका सबैलाई कोरोना भाइरसविरुद्ध चिनियाँ कम्पनीको भेरोसेल खोप ७ जिल्लाका २१ वटा खोप केन्द्रबाट लगाइरहेको छ।
खोप वैशाख ५ गतेसम्म मात्र लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो अवधिमा ४० देखि ५९ वर्षका सबै नागरिकलाई खोप लगाउन स्वास्थ्य मन्त्रालयले काठमाडौंमा १३, ललितपुरमा ३, तथा भक्तपुर, रसुवा, नुवाकोट, काभ्रे र सिन्धुपाल्चोकमा एक/एक स्थानमा खोप केन्द्र निर्धारण गरेको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल, गंगालाल अस्पताल, वीर अस्पताल, क्षेत्रपाटी परोपकार नि:शुल्क अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, निजामती अस्पताल, काठमाडौं मेडिकल कलेज, ओम अस्पताल, नेपाल मेडिकल कलेज र आयुर्वेद तालिम तथा अनुसन्धान केन्द्र कीर्तिपुरलाई खोप केन्द्र तोकेको छ।
यस्तै, ललितपुरको पाटन अस्पताल, किस्ट मेडिकल कलेज र आनन्दभवन अस्पताललाई खोप केन्द्र तोकिएको छ।
स्वास्थ्य मन्त्रालयले भक्तपुरको कोरिय अस्पताल, रसुवाको रसुवा अस्पताल, नुवाकोटको नुवाकोट अस्पताल, काभ्रेको धुलिखेल अस्पताल र सिन्धुपाल्चोकको बाह्रविसे अस्पताललाई खोप केन्द्र तोकेको छ।
वैशाख ५ गतेसम्म यी खोपकेन्द्रमा पुगेर ४० देखि ५९ वर्ष उमेर समुहका सबै नागरिकले खोप लगाउन सक्नेछन्। कोरोना विरुद्धको भेरोसेल खोप लगाउन आफ्नो उमेर खुल्ने सरकारी कागजात वा परिचयपत्र लिएर जान स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
चीन सरकारले अनुदानमा उपलब्ध गराएको ८ लाख भेरोसेल नामक कोरोना भाइरस विरुद्धको खोप चीनमा आवतजावत गर्ने व्यापारी, चीनमा अध्ययन गर्ने विद्यार्थी लगायतलाई खोप लगाएर मौज्दात रहेको खोप ४० देखि ५९ वर्ष उमेर समुहका नागरिकलाई लगाउन थालेको हो।
यो खोप पनि दुई मात्रामा लगाउनुपर्ने भएकाले पहिलो चरणमा ४ लाखलाई पहिलो डोज र उनीहरुलाई नै बाँकी ४ लाख डोज खोपको दोस्रो मात्रा दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म कोभिसिल्ड र भेरोसेल गरी १८ लाख ७३ हजार ३७७ जनाले कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्।