काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको दर उच्च भएमा दैनिक ११ हजार संक्रमित थपिनसक्ने प्रक्षेपण गरेको छ ।
मंगलबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको दर उच्च भएमा जेठ मसान्तसम्ममा दैनिक ११ हजार संक्रमित थपिनसक्ने जानकारी दिएको हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर कृष्ण पौडेलका अनुसार दैनिक ११ हजार संक्रमित थपिएमा करिब ८० प्रतिशत संक्रमित अर्थात करिब ८ हजारमा संक्रमति अस्पताल भर्ना गर्न नपर्ने अवस्थाका हुने, १५ प्रतिशत अर्थात १६ सय बिरामी दैनिक भर्ना गर्नुपर्ने तथा अक्सिजन आवश्यक पर्ने बिरामी हुनसक्ने पक्षेपण गरिएको छ। यस्तै, ती मध्ये ३ देखि ५ प्रतिशतलाई आइसियु सेवा आवश्यक पर्न सक्ने डा पौडेलको भनाइ छ।
यसरी प्रक्षेपण गर्दा दैनिक ११ हजार व्यक्तिमा कोरोना संक्रमण देखिए दैनिक ५ सय जना संक्रमितलाई आइसियु आवश्यक पर्ने डा पौडेलले बताए।
नेपालमा अहिलेको अवस्था जस्तै सबै क्षेत्र खुला भएको अवस्थामा संक्रमणको दर उच्च हुने स्वास्थ्य मन्त्रालयको अनुमान छ।
‘अहिलेको अवस्था जस्तै सबै क्षेत्र खुला भएर मानिसहरुले जनस्वास्थ्यको मापदण्ड पालना गरेनन् भने, दैनिक ११ हजार संक्रमति हुनसक्ने र ५ सय जना गम्भीर बिरामी हुनसक्ने अनुमान गरेका छौं,’ डा पौडेलले भने, ‘तर हिजो सरकारले जारी गरेको आदेश पूर्ण रुपमा लागु हुने हो भने संक्रमण उच्च विन्दुमा नपुग्न पनि सक्छ।’
यसैगरी, असार मसान्तसम्ममा नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख पुग्नसक्ने डा पौडेलको भनाइ छ। तर, नेपालमा नयाँ भेरिएन्टको संक्रमण पनि फैलिदै गएमा असारमसान्त सम्ममा ६ लाख भन्दा बढी संक्रमित हुनसक्ने उनले बताए।
डा पौडेलले कोरोना संक्रमणको दर बढ्दै गएकाले जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि सबैलाई आग्रह गरेका छन्।