काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० हजार थान अक्सिजन सिलिन्डर आयातका लागि व्यवसायीलाई भन्सार छुट गरिदिन अर्थ मन्त्रालयमा सिफारिस पत्र पठाएको छ।
बिहीबार अक्सिजन आयातकर्तासँगको छलफलपछि स्वास्थ्य मन्त्रालयले अक्सिजन सिलिन्डर आयातका लागि भन्सार छुट गरिदिन अर्थ मन्त्रालयलाई सिफारिस पत्र पठाएको हो।
कोरोना संक्रमण तिव्र रुपमा बढेसँगै नेपालमा संक्रमतिको उपचारमा अक्सिजन अभाव हुने देखिएको छ। अक्सिजन अभाव हुने देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको व्यवस्थापनका लागि आयातकर्ता तथा मन्त्रालय अन्तर्गतका निकायसँग पटक–पटक छलफल गरेको छ।
बिहीबार अक्सिजन सिलिण्डर आयातकर्ताले स्वास्थ्य मन्त्रालयलाई २० हजार थान अक्सिजन सिलिन्डर आयातमा भन्सार छुट गरिदिन प्रस्ताव राखेका थिए।
आयातकर्ताको प्रस्तावअनुसार स्वास्थ्य मन्त्रालयले अर्थलाई भन्सार छुट गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । उनले भने, ‘अक्सिजन आयातकर्ताले भन्सार छुट गरिदिए तत्काल अक्सिजन सिलिण्डर ल्याउन सक्छौं भनेपछि स्वास्थ्यले भन्सार छुट गरिदिन अर्थलाई सिफारिस गरेको हो।’
कोरोना संक्रमणको दरसँगै अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या पनि बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालले भारतबाट अक्सिजन आयात गर्दै आएको छ । भारतमा कोरोना संक्रमण व्यापक रुपमा फैलिएसँगै उतै अक्सिजन अभाव हुन थालेको छ। संक्रमणको दर बढ्दै जाँदा भारतले अक्सिजन निर्यात बन्द गरे नेपालमा अक्सिजन अभाव हुनसक्ने भन्दै स्वास्थ्य मन्त्रालय अक्सिजन व्यवस्थापनको गृहकार्यमा लागको हो।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा भिमसिंह टिंकरीका अनुसार स्वास्थ्य मन्त्रालयले अक्सिजनको आयता र उपलब्धताको विषयमा आयातकर्तासँग नियमित छलफल गरिरहेको छ।
स्वास्थ्य मन्त्रालयले अक्सिजन प्लान्ट, लिक्विड अक्सिजन प्लान्ट तथा अक्सिजन सिलिण्डर कुन खरिद गर्न सहज हुन्छ सोही अनुसार प्रक्रिया अघि बढाउने जनाएको छ ।
डा टिंकरीका अनुसार स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको चाप रहेका भेरी अस्पताल, वीर अस्पताल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, राजविराज अस्पताल, हेटौंडा अस्पताल, सेती प्रादेशिक अस्पताल, पोखराको अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट व्यवस्थापन गर्ने तयारी समेत गरिसकेको छ।