नेपालगन्ज- बाँकेमा हरेक दिन कोरोना संक्रमणदर झन् उकालो लाग्दै गएको छ। शुक्रबार(आज) ४८८ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये २२० महिला र २६८ पुरुषमा संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा गरिएको ७१९ जनाको पिसिआर परीक्षणमा ४८८ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)बाँकेले जनाएको छ। बाँकेमा सक्रिय संक्रमितको संख्या एक हजार ७३९ पुगेको छ।
आज भेरी अस्पतालको पिसिआर ल्यावमा २६९ जनामध्ये २५०, मेडिकल कलेज कोहलपुर ल्यावमा २८६ मध्ये १५५, बागेश्वरी ल्यावमा ११० मध्ये ५४ जनामा संक्रमण देखिएको छ। जमुनाहा नाकामा गरिएको ५४ मध्ये १० जनामा संक्रमण पुष्टि भएको डिसिसिएमसी बाँकेले जनाएको छ।
बाँकेमा आज ७४ जना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। उपचारमा रहेका २ जनाको मृत्यु भएको छ।
डिसिसिएमसी बाँकेले राति ८ः४५ मा दिएको तथ्यांक अनुसार अनुसार आज भेरी अस्पतालमा ३७ जना सिकिस्त र १२६ जना मध्यम लक्षण भएका बिरामी उपचाररत छन्। ७ जना बिरामीको भेन्टिलेटरमा राखि उपचार भइरहेको छ।
त्यसैगरी, मेडिकल कलेज कोहलपुरमा २६ जना सिकिस्त र ३३ मध्यम लक्षण भएका संक्रमितको उपचार भइरहेको छ।
पछिल्लो समय बाँकेमा तिव्र रुपमा संक्रमण फैलिएपछि भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरको कोभिड वार्ड भरिएको छ। हरेक दिन संक्रमितको मृत्यु भइरहेको छ।