काठमाडौं- भयावह बन्दै गएको कोरोना संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहीबार (१६ वैशाख) मध्यरातदेखि निषेधाज्ञाको आदेश जारी गर्ने प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको निर्णय आज (सोमबार) साँझ बस्ने मन्त्रिपरिषद्को बैठकपछि मात्र सार्वजनिक हुने भएको छ।
सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुको संयुक्त बैठकले १६ देखि २२ गतेसम्म एक साताका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो।
त्यो निर्णयलगत्तै सीडीओहरुले गृह मन्त्रालय पुगेर यसबारे थप छलफल गरेका थिए। गृह मन्त्रालयमा भएको छलफलपछि मन्त्रिपरिषद् बैठकको निर्णय कुर्ने तय भएको एक प्रमुख जिल्ला अधिकारीले बताए।
मन्त्रिपरिषद्को बैठक सोमबार साँझ पाँच बजे बस्दैछ। आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले १५ गतेदेखि नै केही जिल्लामा निषेधाज्ञा लगाउन सिफारिस गरेको थियो।
सीसीएमसीमा रहेका पर्यटनमन्त्री भानुभक्त ढकालका अनुसार पहाडमा २०० र तराई तथा प्रमुख शहरी क्षेत्रमा ५०० सक्रिय कोरोना संक्रमित पुगेका जिल्लामा निषेधाज्ञाको आदेश जारी नगरिए संक्रमण नियन्त्रणबाहिर जाने भएकाले यस्तो सिफारिस गरिएको हो।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले मन्त्रिपरिषद् बैठकले केही आदेशहरु जारी गर्न सक्ने भएकाले त्यसका आधारमा मात्र निषेधाज्ञाबारे अन्तिम निर्णय गरिने बताए। उनले भने, ‘१६ देखि २२ सम्म निषेधाज्ञाको आदेश जारी गर्नेबारे हामीबीच छलफल भएको हो। औपचारिक निर्णय अब मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्र गर्छौं।’