काठमाडौं- प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले अस्पतालहरूमा तुरुन्त अक्सिजन र भेन्टिलेटरसहितको आईसीयू व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले कोभिड-१९ को संक्रमण तीव्र रूपमा फैलिरहेकोले अस्पतालहरूमा अक्सिजन, भेन्टिलेटरसहितको आईसीयूको अभावमा बिरामीहरु छटपटिएर मर्ने अवस्था आउन नदिनका लागि उक्त व्यवस्था गर्न निर्देशन दिएको हो।
समितिले नेपालगञ्ज, वीरगञ्ज, भैरहवालगायत भारतसँग सीमा जोडिएका शहरहरू र कोभिड-१९ बढी प्रभावित ठाउँहरूमा दक्ष स्वास्थ्यकर्मीहरू यथाशक्य चाँडो पठाउन भनेको छ।
त्यस्तै, समितिले कोभिड-१९ का बिरामीको उपचारमा खटिएका डाक्टर, नर्सलगायत सबै स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सुरक्षा सामग्री र जोखिम भत्ता तुरुन्त उपलब्ध गराउनुपर्ने भनेको छ। सिमाना लगायत बढी संक्रमण भएको ठाउँहरूमा हेल्थ डेस्क र सूचना डेस्क राखी सोको प्रभावकारी नियमन गर्नुपर्ने समितिको निर्देशनमा उल्लेख छ।
समितिले लकडाउनको निर्देशन पनि दिएको छ। ‘कोरोना संक्रमणलाई रोक्न चेन ब्रेक आवश्यक भएकोले व्यवस्थित लकडाउन गर्नुपर्ने’, समितिको २१ बुँदे निर्देशनमा उल्लेख छ।