काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट ३५ जनाको मृत्यु भएको दिन नेपालमा बिहीबार कोरोना संक्रमणको दर पनि हालसम्मकै उच्च देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार गत २४ घण्टाभित्र पीसीआर परीक्षण गरिएकामध्ये ३८.३५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। उक्त अवधिमा १२ हजार ५९७ जनाको पीसीआर परीक्षण गर्दा चार हजार ८३१ जनामा संक्रमण पुष्टि भएको थियो।
उक्त संक्रमण दर वैशाख महिना सुरू भएयताको सबैभन्दा उच्च हो। यसअघि वैशाख ११ गते पीसीआर परीक्षण गरिएकामध्ये ३३.०४ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो।
त्यसैगरी, वैशाख १२, १५ र १४ गते क्रमशः ३२.६३, ३२.१८ र २९.७४ प्रतिशतका दरले संक्रमित थपिएका थिए। वैशाख महिनामा सबैभन्दा न्यून संक्रमण दर १ गते १३.५२ प्रतिशत थियो। वैशाख १६ सम्मको औसत संक्रमण दर भने २६.५१ प्रतिशत रहेको छ।
बिहीबार एन्टिजेन परीक्षणतर्फ पनि १०.०७ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा ९६३ जनाको एन्टिजेन परीक्षण भएकामा ९७ जनाको नतिजा पोजिटिभ देखिएको हो।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार वैशाख महिना (१६ गतेसम्म)मा मात्रै नेपालमा ३७ हजार ९७७ जना संक्रमित थपिएका छन्। यो संख्या पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमार्फत् पुष्टि भएका हुन्।
यी संक्रमितमध्ये पीसीआर परीक्षणबाट पहिचान भएकाको संख्या ३६ हजार ५४६ रहेको छ। उक्त अवधिमा कूल एक लाख ३७ हजार जनाको पीसीआर परीक्षण गरिएको थियो। जसअनुसार पीसीआर परीक्षण गरिएकामध्ये २६.५१ प्रतिशतमा संक्रमण देखिएको छ।
सोही अवधिमा एन्टिजेन परीक्षणतर्फ थप एक हजार ४३१ जना संक्रमित पहिचान भएका छन्। कूल १२ हजार १०१ जनाको एन्टिजेन परीक्षणबाट उक्त संक्रमित भेटिएका हुन्।
नेपालमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या तीन लाख १७ हजार ५३० पुगेको छ। हाल देशभर ३४ हजार ११७ जना सक्रिय संक्रमित रहेका छन्। कोरोना संक्रमणबाट हालसम्म तीन हजार २४६ जनाले ज्यान गुमाइसकेका छन्।