काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया भएको छ।
काठमाडौंस्थित वीर अस्पतालका चिकित्सक डा. सुबोध अधिकारी नेतृत्वको टिमले शुक्रबार बिहान उनको शल्यक्रिया गरेकोे हो।
नेता भट्टराईकी छोरी मानुषी यमी भट्टराईले सामाजिक सञ्जालमार्फत शल्यक्रिया सफल भएको जानकारी दिएकी हुन्।
‘पेटको न्युरो–इन्डोक्राइन ट्युमरको सफल शल्यक्रिया र शीध्र स्वास्थ्यलाभको कामना, बा!’ उनले लेखेकी छन्। ‘शल्यक्रियामा संलग्न वीर अस्पतालको चिकित्सक टोली, अस्पताल परिवारप्रति सधन्यवाद शुभकामना।’
यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो।वायोप्सीसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको बताएका थिए।
ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव अनुसार भट्टराईले शल्यक्रिया गराएका हुन्।