दाङ- दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएपछि त्यहाँ उपचारत बिरामीको अवस्था नाजुक बन्दै गएको छ।
अस्पतालमा भर्ना भएका ५९ जना सिकिस्त बिरामीलाई अक्सिजन अभाव भएपछि बचाउन समस्या भएको कारोना विशेष अस्पतालका फोकल पर्सन दोर्ण ओलीले बताए।
अहिले भएको स्टक अक्सिजनले बेलुका ६ बजेसम्म मात्रै पुग्छ। अक्सिन लिन गएका अक्सिजन ट्याङ्कर नेपालगञ्जमा लाइनमा बसेका छन्।
'नेपालगञ्जबाट राति ११ बजे मात्रै अक्सिजन दाङ आउने भनिएको छ’, ओलीले भने, ‘चार घण्टासम्म सिकिस्त विरामीलाई बिना अक्सिजन कसरी बचाउने होला? गाह्रो भइसक्यो। अब कोरोनाले सिकिस्त भएका विरामीलाई कसरी बचाउने भन्ने विषयमा अस्पतालमा छलफल गरिरहेका छौं।’
शनिबार बेलुकी अक्सिनको अभाव भएपछि घोराही सिमेन्ट कारखनाबाट २० सिलिण्डर ल्याएर काम चलाएको ओलीले बताए।
कोरोना बिरामीको संख्या बढ्दै गएपछि अक्सिजनको भाग समेत बढ्दै गएको हो । कोरोना संक्रमणबाट तुलसी उपमहानगरपालिका ९ का ५९ वर्षका एक पुरुषको मृत्यु भएको छ।
‘६० जना बिरामीका लागि दैनिक २४० सिलिण्डर चाहिन्छ। अस्पतालसँग जम्मा १२० सिलिण्डर मात्र छ। ती सिलिण्डर रोटेशनमा चलाइरहेका छाैं। बिरामीको संख्या बढेको बढ्यै छ। सबै सिलिण्डर बेलुका सात बजे सकिँदैछन्’ ओलीले भने ‘बिरामी र आफन्त आत्तिएका छन्। हामी पनि छलफलमै छाैं।’