काठमाडौं- न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ।
पूर्वमहान्यायाधविक्तासमेत रहेका खड्कालाई कोभिड-१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो। कोरोना सङ्क्रमणकै कारण उनको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।
जनकपुरमा जन्म भई काठमाडौँको गौरीघाट निवासी खड्काको कानून र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ।निराला २०७६ पुस २० गते संघीय संसदको संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुँदै न्याय परिषद् सदस्य भएका थिए।
संसदीय सुनुवाइ समितिमा उनले आफूले अदालतभित्र रहेका विकृतिको विषयमा काम गर्ने उद्देश्यमात्र बोकेको वाचा गरेका थिए।
पूर्वराजा ज्ञानेन्द्र शाहको पालामा सरकारको कानुनी सल्लाहाकार (महान्यायाधिवक्ता) भएका वरिष्ठ अधिवक्ता निराला कानुन क्षेत्रका चर्चित अनुहार हुन् ।
उनी २०६२ पुस ११ गतेदेखि २०६३ वैशाख ५ गतेसम्म ४ महिना महान्यायाधिवक्ता भएका थिए। राजा ज्ञानेन्द्रले संसद् पुन:स्थापन हुने भन्दै जनताको नासो जनतालाई नै सुम्पेको घोषणा गरेपछि खड्काले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए।
रासस