ओखलढुंगा– ओखलढुंगाका गाउँगाउँमा कोरोना संक्रमित भेटिन थालेका छन्। शहरमा संक्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौं र तराईका जिल्लाबाट गाउँ फर्किएकामा संक्रमण देखिन थालेको हो।
हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या नौ पुगेको छ। बिहीबार जिल्लाका सात जनाको एन्टिजेन परीक्षण गरिएकामा थप तीन जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या नौ पुगेको हो।
सात जनाको एन्टिजेन परीक्षण गरिएकामा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका ४३ वर्षीय पुरुष, मोलुङ गाउँपालिका–८ की १९ वर्षीया महिला र मोलुङ हाइड्रोपवरमा कार्यरत कपिलवस्तुका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। उनीहरूमध्ये खिजीदेम्बा र मोलुङका दुई जना शहरबाट कोरोना छल्न गाउँ पुगेका व्यक्ति हुन्।
शहरबाट गाउँ पुगेकाहरूमा कोरोनाको लक्षण देखिन थालेपछि गाउँमा त्रास बढेको छ । कोरोनाको दोस्रो लहर शुरु भएपछि ओखलढुङ्गामा हजारौँ मानिस गाउँ फर्किएका छन्।
गाउँगाउँमा समेत कोरोनाका संक्रमित भेटिन थालेपछि संक्रमितका सम्पर्कमा रहेकालाई समेत स्वास्थ्य जाँच गराउनुपर्ने माग बढेको छ। तर, तत्काल लक्षण देखिएका बाहेक अन्यलाई परीक्षण गर्न सक्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए। रासस