काठमाडौं– ललितपुरको अल्का अस्पतालले कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको अभाव हुन थालेको जनाएको छ।
अस्पतालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अस्पतालमा अक्सिजन आपूर्तिमा कठिनाइ उपन्न भएको जनाएको हो।
अस्पतालका अध्यक्ष कुमार थापाका अनुसार कोरोना संक्रमितलाई हाई फ्लोमा अक्सिजन दिनुपर्ने भएकाले अक्सिजन अभाव हुन थालेको हो।
‘अहिले अल्कामा ६० जना कोरोना संक्रमित उपचाररत छन्, ननकोभिड बिरामी पनि उपचाररत छन्,’ उनले भने, ‘अस्पतालसँग तीनवटा बेड खाली छ, तर अक्सिजन नपुग्ने भएकाले नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुगेका छौं।’
अस्पतालका अनुसार अहिले दैनिक १ सय ५० वटा सिलिण्डर आवश्यक छ। अस्पतालसँग आफ्नै अक्सिजन प्लान्ट रहेको छ। तर त्यसबाट ४४ वटा सिलिण्डर मात्र भर्न पुग्ने रहेको अस्पतालले जनाएको छ।
अक्सिजन अभाव भएपछि अस्पतालले थप बिरामी भर्ना लिन नसकिको जनाएको छ। अस्पतालले अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रहसमेत गरेको छ।