काठमाडौं- काठमाडौं जिल्लामा काेराेनाविरुद्धको दोस्रो चरणको चिनियाँ खोप भेरोसेल सञ्चालन गर्ने तयारी भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आगामी जेठ २ गतेदेखि खोप लगाउने तयारी गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख १५ मा अत्याधिक भिडभाड बढेकाे भन्दै केही समयका लागि खोप लगाउने काम स्थगित गरेको थियाे। यद्यपि, पुन: काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि जेठ २ गतेदेखि खोप कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई पत्र लेखी पठाउने निर्णय भएकाे प्रजिअ पराजुलीले जानकारी दिए।
उनका अनुसार काठमाडौं उपत्यकामा एन्टि कोभिड भ्याक्सिनको दोस्रो चरणको खोप सञ्चालनका सम्बन्धमा सवै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी भिडभाड हुन नदिन कुपन वितरण व्यवस्था मिलाउन सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय भएको हो।
खोप कार्यक्रम सञ्चालनका लागि आवश्यक सुरक्षाको व्यवस्था भने जिल्ला प्रशासन कार्यालयले मिलाउने उनले बताए।
मन्त्रालयले जारी गरेकाे बुलेटिन अनुसार उपत्यकाका तीन जिल्ला काठमाडाैं, ललितपुर र भक्तपुरमा ३९ हजार ४६३ जना सक्रिय संक्रमित छन्।
काठमाडाैंमा मात्रै २९ हजार ७१ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन्। यस्तै, भक्तपुरमा ४ हजार ११२ र ललितपुरमा ६ हजार २८०जना सक्रिय संक्रमित रहेका छन्।
काठमाडौं उपत्यकामा एकै दिन (साेमबार) ३ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे।
आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७७५ छन्। यस्तै, ललितपुरमा ५०५ र भक्तपुर जिल्लामा ३२७ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
संक्रमणबाट काठमाडौंका एक लाख १७ हजार ८२८ जना निको भइसकेका छन्। भक्तपुरका १० हजार १६९ र ललितपुरका १८ हजार २६९ जना निको भइसकेका छन्।
कोरोना संक्रमणबाट काठमाडौंका ८६३, ललितपुरका २४७ र भक्तपुर १७६ जनाले ज्यान गुमाइसकेका छन्।