काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थपिएको छ। मंगलबार सम्पन्न उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्ने निर्णय गरेको हो।
काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा थप गरी वैशाख २९ गतेसम्म पुर्याइएको थियो।
मंगलबारको बैठकले जारी निषेधाज्ञालाई जेठ १३ गतेसम्म निरन्तरता दिने निर्णय गरेको काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताए।
उनका अनुसार आजको बैठकले यसअघिको नियममा केही परिमार्जनसमेत गरेको छ।
नयाँ व्यवस्था अनुसार अब दैनिक उपभोग्य सामग्रीको पसल बिहान १० बजेसम्म खोल्न पाइनेछ। यसअघि बिहान ९ बजेसम्म मात्रै पसल खोल्न पाउने व्यवस्था थियो।
उपत्यकाभित्रका अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ। त्यसैगरी, निजी निर्माण सामग्री ओसारपसारमा समेत रोक लगाइएको सीडीओ पराजुलीले बताए।
बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने निर्णय गरेको पराजुलीले बताए।