काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको खोप खरिदका क्रममा कसैलाई पनि कमिसन नदिएको दाबी गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले कमिसन नदिएको र नलिएको दाबी गरेका हुन्।
‘खोप खरिदका विषयमा यो बीचमा धेरै हल्लाहरू आए। तर म के स्पष्ट पार्न चाहन्छु भने खोप खरिदका लागि कसैलाई एक पैसा कमिसन दिएका छैनौं र लिएका पनि छैनौं’ उनले भने, 'हामीले खरिद गरेको २० लाख डोज खोप हो। त्यो पनि सहुलियत दरमा ४ डलरका दरले। त्यसकारण खोप खरिदबारे हल्ला र अफवाह धेरै भयो।'
उनले सरकारले सहुलियत दरमा खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख डोज उत्पादक कम्पनी सिरमले अझै दिन बाँकी रहेकाले छिट्टै खोप आउने विश्वास लिएको पनि बताए।
उनले सरकारले ल्याएको दर ४ डलरमा नै अरु कसैले खोप ल्याउन सक्छ भने सरकारले १ करोड भन्दा बढी डोज खोप किन्ने चुनौती पनि दिए।
'यदि कसैले ४ डलरभन्दा कम दरमा खोप उपलब्ध गराउँछ भने सरकारले १ करोड भन्दा बढी किन्न तयार छ। कोही उपलब्ध गराउँन सक्छ?', उनले चुनौती दिँदै भने, 'खोपका विषयमा संसदमा पनि कुरा उठ्यो। बोल्न त बोल्नुहोस्। तर कुनै तथ्य बिना नबोल्नुस्। हामीले खरिद गरेको २० लाख डोज हो। त्यो पनि ४ डलरका दरले।'
मन्त्री त्रिपाठीले भारतले २० प्रतिशत निर्यातको अनुमति दिइसकेका कारण सेरमले अनुमति पाउने बित्तिकै नेपाललाई पहिलो प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने कुरामा आफू विश्वस्त रहेको पनि जानकारी दिए।
उनले खोप खरिदका लागि अमेरिका, रसिया, बेलयात, चीन लगायतका देशसँग पनि पहल भइरहेको बताए।