काठमाडौं– कोरोना संक्रमणको दर बढ्दै जाँदा नेपालमा संक्रमितको उपचारमा अक्सिजन अभाव हुन थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको सहज आपूर्तिका लागि कोटा छुट्याएर अक्सिजन वितरण गर्ने निर्णय गरेपनि अधिकांश अस्पतालमा अक्सिजन अभाव भइरहेको पाइएको छ।
अक्सिजन अभावको कारण देखाउदै काठमाडौं उपत्यकाका अघिकांश निजी अस्पतालहरुले कोरोना संक्रमितलाई भर्ना नै लिन नसक्ने घोषणा समेत गर्न थालिसकेका छन्।
वयोधा अस्पतालले अक्सिजन अभावको कारण देखाउँदै कोरोना संक्रमितलाई भर्ना नलिने निर्णय गरेको छ।
अस्पतालले मंगलबार एक विज्ञप्ती जारी गर्दै अक्सिजन अभाव भएकाले अनिश्चित समयका लागि कोरोनाका कुनै पनि बिरामीलाई भर्ना लिन नसक्ने जनाएको छ।
यस्तै, अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई भने डिस्चार्ज नहुँदासम्मका लागि अक्सिजनको व्यवस्थापन गर्ने र बिरामीले इच्छा अनुसार अन्य अस्पतालमा रेफर हुन सक्ने समेत जनाएको छ।
‘हाल यस अस्पतालमा भर्ना भइ उपचार गराई रहनु भएका बिरामी वर्गको हकमा यथासम्भव हाल अस्पतालमा मौज्दात रहेको र बाहिरबाट थोरै भए पनि आपूर्ति भइ राखेको अक्सिजनको प्रयोग गरी अन्तिम घडीसम्म उपचार निरन्तर गर्ने प्रयास गर्ने छौं,’ अस्पतालको विज्ञप्तीमा भनिएको छ, ‘यस दौरानमा बिरामी वर्गले आफ्नो सोइच्छा अनुसार उपचारको अन्य विकल्प रोज्नु भएमा हामी त्यहिअनुसार सहयोग गर्ने कोशिस पनि गर्नेछौं।’
अस्पतालले अक्सिजनको सहज आपूर्ति भएमात्र कोरोना संक्रमितको उपचार गर्ने जनाएको छ।
यस्तै लतिपुरमा रहेको मेडिसिटि अस्पतालले पनि अक्सिजन अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने घोषणा गरेको छ।
अस्पतालले मंगलबार एक विज्ञप्ती जारी गर्दै अक्सिजनको चरम अभाव भएको जनाएको छ।
‘अहिलेको विषम् परिस्थितिका कारण सिर्जना भएको अक्सिजन अभाव लगायत अन्य समस्याका कारण कोभिड १९ संक्रमणका जटिल स्थितीका बिरामीहरुको नयाँ भर्ना लिन अस्पताल असमर्थ रहेको र हाल उपचाररत् बिरामीहरुलाई समेत अक्सिजन अभावमा यस अस्पतालमा उपचार गर्न नसकिने अवस्था निर्माण हुन सक्ने व्यहोरा सम्बन्धित निकायलाई प्रस्तुत गर्दछौं।’ अस्पतालले निकालेको विज्ञप्तीमा भनिएको छ।
मेडिसिटी अस्पतालमा हाल १०० जना भन्दा बढि नन् कोभिड बिरामीहरु तथा १२० जनाभन्दा बढि कोभिडका बिरामीहरुको उपचार भइरहेको छ। जसमा ४० जना भन्दा बढि भेन्टिलेटर सहितको विभिन्न सघन उपचार कक्षमा रहेको अस्पतालले जनाएको छ।
अस्पतालका मेसु डा राज राणाका अनुसार प्रत्येक दिन ४५० देखि ५०० अक्सिजन सिलिण्डर आवश्यक पर्छ। तर हाल नेपाल सरकारबाट १ सय सिलिण्डरमात्र प्राप्त हुने भएकाले कुनै पनि हालतमा उपचार गर्न सम्भव नहुने अस्पतालले जनाएको छ।
अस्पतालले अक्सिजनको सहज आपूर्ति गर्ने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिसिएमसी र सम्बन्धित निकायहरुसँग अपिल समेत गरेको छ।
स्थिती सामान्य बन्दै आवश्यक अक्सिजन परिमाण र अन्य सामग्रीहरु प्राप्त भएसँगै अस्पतालले नयाँ बिरामी भर्ना लिने जनाएको छ।
यस्तै, नेपाल मेडिकल कलेजले समेत अक्सिजन सकिनै लागेको भन्दै बिरामीलाई नै आफ्नो विकल्प आफैंले खोज्न भनेको छ।
अक्सिजनको आपूर्ति सहज भएको र अक्सिजन अभावका कारण उपचाररत बिरामीको ज्यान जानसक्ने भन्दै अस्पतालले बिरामीलाई अन्य अस्पतालमा रेफर हुन बिरामीलाई आग्रह गरेको अस्पतालका निर्देशक डा राजेश किशोर श्रेष्ठले बताए।
‘सात दिन भयो अक्सिजनको लागि हामी तड्पिएको सप्लायर्ससँग अरुले दादागिरी गरेर लिन थाले, हामीले ल्याउन सकेनौं,’ उनले भने, ‘५ मिनेट मात्र अक्सिजन रोकियो भने ५०, ६० को मृत्यु हुनसक्छ, फेरी हामीलाई बिरामी मारेको आरोप लाग्छ, त्यो भन्दा समयमै बिरामीलाई आफै व्यवस्था गर्नु भनेर सचेत गराएका हौं।’
काठमाडौंको अर्को निजी अस्पताल ओम अस्पतालले पनि आइतबार नै एक विज्ञप्ती जारी गर्दै अक्सिजन अभाव भएका कारण नयाँ कोरोना संक्रमितलाई भर्ना नलिने घोषणा गरिसकेको छ।
यस्तै, अल्का अस्पताल, मेडिकेयर, हेल्पिङ ह्याण्ड, दीर्घायु गुरु अस्पताल, करुणा अस्पतालले समेत अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी नलिने घोषण सहितको विज्ञप्ती निकालिसकेका छन्।
नर्भिक र स्टार अस्पतालले पनि अक्सिजनको समस्या आउने सुरु भइसकेको बताइसकेका छन्। ग्रान्डी अस्पतालले पनि नयाँ बिरामी भर्ना लिन नसक्ने भनिसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अघि मात्र अक्सिजन सहज रुपमा व्यवस्थापन गर्ने भन्दै अस्पतालहरुमा कोटा तोकेर अक्सिजन उपलब्ध गराउने निर्णय गरेको थियो। कोटा प्रणालीबाट अक्सिजन उपलब्ध हुने भएपछि अघिकांश निजी अस्पतालहरुमा उपचाररत बिरामीका लागि आवश्यकता भन्दा कम अक्सिजन आपूर्ति भएको अस्पतालहरुले जनाएका छन्।
निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले त विज्ञप्ति नै निकालेर सरकारको उक्त निर्णयको विरोध गरेको छ। स्वास्थ्य मन्त्रालयले मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन उपलब्ध गराउन अक्सिजन उद्योगलाई पत्राचार गरेपछि अफिनले उक्त निर्णयप्रति खेद व्यक्त गर्दै सहज रुपमा अक्सिजन उपलब्ध गराउन भनेको छ।
निजी अस्पतालहरुले बिरोध गरेपछि सरकारले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) बाट अक्सिजनको व्यवस्थापन हुने निर्णय गरेको छ। सिसिएमसीले सोमबार उपत्यकाका ७७ वटा अस्पतालहरुका लागि दैनिक अक्सिजनको कोटा तोकेको छ। तर उक्त कोटा बिरामीको चाप अनुसार निकै कम भएको भन्दै अस्पतालहरुले थप अक्सिजन उपलब्ध गराउन भनिरहेका छन्।
निजी अस्पताल मात्र होइन, सरकारी अस्पतालमा पनि कोरोना संक्रमितको उपचारमा अक्सिजनको समस्या भइरहेको अस्पतालहरुले जनाएका छन्।
सरकारले वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालमा रहेको नयाँ भवनलाई पनि कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्ने निर्णय गरेको थियो। तर, वीर र त्रिवि शिक्षण अस्पतालले अक्सिजनको समस्या भएकै कारण नयाँ भवन सञ्चालन गर्न नसकेको जनाएका छन्।
काठमाडौं उपत्यकामा मात्र नभई उपत्यकाबाहिरका अस्पतालमा पनि अक्सिजनको अभाव देखिएको छ। अक्सिजन अभाव भएपछि अस्पतालले संक्रमित भर्ना रोक्दा हेलिकोप्टर लिएर काठमाडौं आइरहेका संक्रमितको उपचार अभावमा मृत्यु भइरहेको छ।
निजी अस्पतालहरुले अक्सिजन अभावको कारण देखाउदै बिरामी नै भर्ना नलिने घोषणा गरिरहदा स्वास्थ्य मन्त्रालयका अधिकारीहरु भने निजी अस्पतालहरुले अक्सिजन प्लान्ट वा लिक्विड अक्सिजन ट्यांकको व्यवस्थापनमा अग्रसर हुनुपर्ने बताउँछन्।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल काठमाडौं उपत्यकामा दैनिक ८ हजार ५०० सिलिण्डर अक्सिजन उत्पादन भइरहेको तर माग भने १२ हजार सिलिण्डर रहेकाले अभावको अवस्था देखिएको बताए ।
उनले सरकारले थप अक्सिजन प्लान्ट र ट्यांकको व्यवस्थापन १० दिनभित्र गर्न लागेको भन्दै निजी अस्पतालले पनि अक्सिजन प्लान्ट वा ट्यांकको व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिए।
‘कुनै पनि निजी अस्पतालले अस्पतालमा अक्सिजनको व्यवस्था गर्नुपर्छ। निजी अस्पतालले छिटोभन्दा छिटो आफ्नो अक्सिजन प्लान्टको व्यवस्था गर्नुपर्छ,’ डा गौतमले भने, ‘बरु त्यसका लागि सरकारले के गर्नपर्छ? भन्सार छुट गरिदिने हो कि? ल्याउन सहजिकरण गरिदिने हो कि? कहाँबाट ल्याउने हो त्यो सरकारसँग कुटनीतिक रुपमा पहल गर्नुपर्ने भए त्यसमा सरकार सकारात्मक छ।’
सरकारले अहिले काठमाडौं उपत्यकामा अस्पतालहरुमा संक्रमितको चापको आधारमा समानुपातिक रुपमा अक्सिजन वितरण गरिरहेको डा गौतमको भनाइ छ।
सरकारले थप अक्सिजनको व्यवस्थापन गरिरहेकाले केही सातामै अक्सिजन अभावको समस्या कम हुने डा गौतमले जानकारी दिए।