काठमाडाैं- प्रहरीको आदेशपछि बाँकेस्थित भेरी अस्पतालको फार्मेसीले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेमडिसिभिर औषधिको बिक्री गर्न बन्द गरेको छ। अस्पतालले आफ्नो फार्मेसीमा रेमडिसिभिर माैज्दात रहे पनि प्रहरी आदेशका कारण बिक्री गर्न नसकिने जानकारी दिएको छ।
नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै कोरोनाको 'हट स्पट' बनेको बाँकेमा संक्रमित थपिने क्रम जारी छ। कोरोना संक्रमितले त्यहाँका अस्पतालहरु भरिएका छन्। यही बेला बाँके प्रहरीले भेरी अस्पतालको फार्मेसीलाई कोरोना संक्रमितका लागि अत्यावश्यक मानिने औषधि बिक्री गर्न रोकेको हो।
भेरी अस्पताल विकास समितिले बुधबार विज्ञप्ति जारी गर्दै फार्मेसीबाट एक व्यक्तिले रेमडिसिभिर औषधि खरिद गरी कालोबजारी गरेको आरोपमा प्रहरीले बाँकी रहेका औषधि बिक्री नगर्न माैखिक आदेश दिएको जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट आएको प्रहरी टोलीले यस्तो आदेश दिएको अस्पतालको भनाइ छ।
अस्पतालले प्रहरीले बिनाजानकारी अस्पतालमा प्रवेश गरी फार्मेसीमा बाँकी रहेका रेमडिसिभिर बिक्री नगर्न आदेश दिएको घटनाप्रति खेद व्यक्त गरेको छ। साथै, महामारीका बेला खटिएका स्वास्थ्यकर्मी, चिकित्सक तथा कर्मचारीमाथि विभिन्न व्यक्तिबाट हातपात र दुर्व्यवहार गर्ने, प्रहरी प्रशानसनबाट अनुगमनका नाममा कर्मचारीलाई दु:ख दिने शृंखलामै प्रहरीले अस्पतालमा प्रवेश गरी औषधि बिक्री नगर्न आदेश दिने कार्यमा संलग्न दोषीमाथि कारबाहीको मागसमेत अस्पतालले गरेको छ।