काठमाडौं - औषधि व्यवस्था विभागले ह्याण्ड स्यानीटाइजर दर्ता अनुमतिका लागि आह्वान गरेको छ।
विभागले स्यानिटाइजर बिक्री वितरण प्रमाणपत्रको आधारिकारिक पैठारीकर्ताले ‘इन्सट्यान्ट ह्याण्ड स्यानीटाइजर उत्पादन, पैठारी र निकासी, बिक्री वितरण सम्बन्धी व्यवस्था’ बमोजिम कागजात पेस गर्नुपर्ने जनाएको छ।
आयातका लागि अनुमति प्राप्त गरेका प्रत्येक उत्पादनको हकमा पैठारी पूर्व प्रत्येक लटको उत्पादनको राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्नुपर्ने र सो गुणस्तरीय भएमा मात्र आयात अनुमति प्रदान गरिने विभागले स्पष्ट पारेको छ।
साथै, पहिलो लटको आयात पश्चात अन्य थप लट आयात गर्दा अनिवार्य रुपमा नेपालीमा समेत लेबल हुनुपर्ने, मूल्यको हकमा उत्पादक देश र विभागबाट लेखिएको मूल्य मध्ये जुन कम हुन्छ सोको मूल्य राख्नुपर्ने र यस अघि मूल्य अभिवृद्धि कर तिरी नेपालमा पैठारी भइसकेका, बिक्री वितरणमा रहेका स्यानीटाइजरको हकमा एक पटक लागि राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गरि विभागले तोकेको मापदण्ड अनुसार पाइएमा बिक्री वितरण गर्न अनुमति प्रदान गरी र सो पश्चात थप आयातको लागि नियमानुसार दर्ता/आयात अनुमति प्रदान गर्न सकिने विभागले उल्लेख गरेको छ।
विभागबाट दर्ता र अनुमति प्राप्त नगरेका कुनै पनि उद्योग र पैठारीकर्ताकाले स्यानिटाइजरको उत्पादन, बिक्री वितरण र प्रयोग नगर्न नगराउन पनि सचेत गराइएको छ।
विभागले प्रयोगकर्तालाई पनि विभागमा दर्ता रहेको गुणस्तरीय ह्याण्ड स्यानिटाइजर मात्र प्रयोग गर्न आग्रह गरेको छ।