काठमाडौं– सरकारले अक्सिजन आपूर्तिमा अस्पतालहरुमा लगाएको कोटा प्रणाली खारेज गरेको छ।
अक्सिजनको व्यवस्थापनको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले पाएपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले कोटा सिस्टम खारेज भएको जानकारी दिएका छ।
स्वास्थ्य मन्त्रालयले सबै अक्सिजन उत्पादक उद्योगहरुलाई सम्बोधन गर्दै अस्पतालहरुमा साविककै नियमित ढुवानी प्रक्रियाबाट अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको हो।
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महामारीको यो कठिन अवस्थामा अक्सिजन व्यवस्थापनलाई सहज बनाउनका लागि हाललाई अर्को व्यवस्था नभएसम्म उद्योगबाट अस्पतालहरुमा साविककै नियमित ढुवानी प्रक्रियाबाट मेडिकल अक्सिजन उपलब्ध गराइदिनुहुन तथा आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रायलको अक्सिजन वितरण व्यवस्थापन गर्ने उच्चस्तरीय टोलीहरुको निर्णय र निर्देशानुसार स्थानीय प्रशासनहरुसँग सहकार्य र सरोकारवाला अन्य निकायहरुको समन्वयमा गराईदिनुहुन अनुरोध छ।’
काठमाडौं उपत्यकाका अक्सिजन उद्योगहरुबाट अस्पतालमा अक्सिजन सप्लाई गर्दा सरकारले कोटा सिस्टममा वितरण गर्ने व्यवस्था गरेपछि सरकारी अस्पतालहरुमा समेत अक्सिजन अभावको अवस्था देखिएको थियो।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले अस्पतालहरुमा दैनिक अक्सिजनको कोटा निर्धारण गरेको थियो। उक्त निर्णयपछि अस्पतालमा बिरामीको संख्या धेरै हुने तर अक्सिजन अभाव हुने समस्या देखिएको थियो। अक्सिजन अभाव हुँदा अस्पतालमा बिरामीको मृत्यु समेत भइरहेको छ।
सिसिएमसीको बैठकले निर्णय गरि लागु गरेको कोटा सिस्टमबाट झनै अक्सिजनको हाहाकार भएपछि सिसिएमसीले गर्दै आएको अक्सिजन वितरण प्रणालीलाई व्यवस्थित गर्ने जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पाएको छ।
सिसिएमसीले स्वास्थ्य मन्त्रालयलाई नै जिम्मेवारी दिएपछि अक्सिजन वितरण व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय टोली समेत गठन गरेको छ।
आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयको सो टोलीहरुको निर्णय र निर्देशन अनुसार गर्ने जनाएको छ।