काठमाडौं- वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। वैशाख १ गतेसम्म कोरोना संक्रमितको संख्या तीन लाख सात हजार ९२५ थियो। सो संख्या बढेर शुक्रबार चार लाख ३९ हजार ६५८ पुगेको छ। एक महिनाको अवधिमा मात्रै एक लाख ५८ हजार ७१ कोरोना संक्रमित थपिएका छन्।
वैशाख १ गते एकैदिन कोरोनाबाट ६०३ जना संक्रमित भएकामा शुक्रबार एकैदिन संक्रमितको संख्या आठ हजार ५२० पुगेको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९४८ जनाको पिसिआर परीक्षण तथा ५३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। वैशाख १ गतेसम्म पिसिआर परीक्षण गराउनेको संख्या २२ लाख ३६ हजार ५२६ जना थियो भने सो संख्या बढेर २७ लाख ३३ हजार ५१० पुगेको छ। वैशाखमा मात्रै चार लाख ९६ हजार ९८४ जनाको पिसिआर परीक्षण गरिएको छ।
वैशाख महिनामा कोरोनाबाट निको हुनेको संख्या ४९ हजार ४७ रहेको छ। कोरोना भाइरसबाट आजसम्म निकाे हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ। उक्त संख्या वैशाख १ गते दुई लाख ७८ हजार ५०६ रहेको थियो। पछिल्लो २४ घण्टामा देशभर छ हजार १३५ संक्रमित निको भएर घर फर्किएका छन्।
सक्रिय संक्रमितको संख्या देशभर ह्वात्तै बढेको छ। वैशाख १ गते सक्रिय संक्रमित चार हजार ५६ जना रहेकामा हाल उक्त संख्या बढेर एक लाख सात हजार ३३६ पुगेको मन्त्रालयले जनाएको छ।
हाल देशभर एक हजार ७०५ संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। एक हजार ३३४ संक्रमितको आइसियुमा तथा ३७१ संक्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ। सबैभन्दा बढी बागमती प्रदेशमा ५४२ संक्रमित आइसियुमा तथा २२० संक्रमित भेन्टिलेटरमा छन्। काठमाडौं उपत्यकामा मात्रै १८५ संक्रमितको आइसियुमा तथा १०५ संक्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ।
वैशाखमा एक हजार ६०८ जना संक्रमितको मृत्यु
वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जना संक्रमितको मृत्यु भएकाे छ। वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा शुक्रबार सो संख्या बढेर चार हजार ६६९ पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट २०३ ले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। वैशाख १ गते तीन संक्रमितको मृत्यु भएको थियो । वैशाख १४ गते एकैदिन १८ जनाको मृत्यु भएको थियो।