काठमाडौं- सरकारले काठमाडौंका सरकारी अस्पतालमा कोभिड ओपिडी सेवा सुरु गरेको छ। संक्रमितको संख्या बढ्दै जाँदा होम आइसोलेसनमा बस्नेको संख्या बढेको र गम्भीर अवस्था भएपछि मात्र अस्पताल आइपुग्ने क्रम बढेपछि स्वास्थ्य मन्त्रालयले ओपिडी सञ्चालन गर्ने निर्णय गरेको हो।
कोभिड ओपिडीमा पोजिटिभ बिरामीको जाँच गरिने र जाँचका क्रममा सामान्य भएमा चिकित्सकको सुझावसहित घरमा पठाइने, अक्सिजन चाहिने अवस्था भएमा ओपिडीमा नै दिइने र गम्भीर भए भर्ना गर्ने व्यवस्था समेत मिलाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार निजी अस्पतालमा पनि यसरी नै व्यवस्थापन गर्न भनिएको छ।
'यसले अस्पतालको भर्ना र अक्सिजनको चाप घटाउँछ। जसले गर्दा अक्सिजन र बेड नपाउने समस्या कम हुन्छ,' उनले भने।
डा गौतमले केही दिनमा नै अक्सिजनको समस्या समाधान हुने भन्दै बिरामीका आफन्तलाई नै अक्सिजन ल्याउन भन्नू गैरजिम्मेवार अभिव्यक्ति भएको पनि बताएका छन्।
'बिरामीको आफन्तलाई अक्सिजन ल्याउनू अनि भर्ना गर्छु भन्नू गैरजिम्मेवार अभिव्यक्ति हो। भोलि डाक्टर र नर्स ल्याउनू भन्ने कुरा आउला, यो गैरजिम्मेवारीको परकास्टा हो,' उनले भने 'अक्सिजन प्लाण्ट, लिक्विड अक्सिजन ट्यांक, अक्सिजन कन्सन्टेटर र सिलिण्डरको व्यवस्थापन गर्दैँ जाँदा केही दिनमा अलि सहज भएर आउँछ।'