काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माताहतको निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक सातामा थपिएका संक्रमितमध्ये ८६ दशमलव ६ प्रतिशत संक्रमित देशका २० वटा जिल्लामा छन्।
महाशाखाले गरेको तथ्यांक विश्लेषणअनुसार सबैभन्दा बढी संक्रमित काठमाडौं जिल्लामा देखिएको छ। काठमाडौं जिल्लामा जम्मा यो सातामा थपिएका सक्रिय संक्रमितमध्येको ३१ प्रतिशत रहेका छन्।
महाशाखाले गरेको साप्ताहिक विश्लेषण अनुसार सबैभन्दा बढी संक्रमित देखिएका २० जिल्लामा क्रमश काठमाडौं, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभ्रे, सुनसरी, पर्सा, बर्दिया र पाल्पा छन्।
महाशाखाका निर्देशक डा कृष्ण पौडेलका अनुसार यी जिल्लाका मुल सडकमा आवतजावत कम देखिएपनि भित्रि सडक तथा पसलहरुमा चहलपहल बढी नै देखिएका कारण संक्रमण समाजमा फैलिइरहेको हो। यसका साथै यी जिल्लामा मानिसहरुको भेटघाट समेत बढी मात्रामा देखिएको पाइन्छ।