काठमाडौं - नेपाल औषधि उत्पादक संघले कोभिड १९ मा अत्यधिक प्रयोग हुने औषधिहरुको अभाव नरहेको जनाएको छ।
संघले शुक्रबार प्रेस विज्ञप्ति मार्फत मौज्दात रहेको औषधिहरुको विवरण सार्वजनिक गर्दै अभाव नरहेको स्पष्ट पारेको हो। संघले कोभिड १९ मा अत्याधिक प्रयोग हुने १३ वटा औषधिको सूची सहित मौज्दात विवरण सार्वजनिक गरेको छ।
एमोक्सीसिलिन ५०० औषधि हाल १ करोड २० लाख मौज्दातमा छ। यौ औषधिको उत्पादनक संख्या १६ छन्।
स्वदेशमा ३५ वटा उत्पादक कम्पनी रहेको एजिथ्रोमाइसीन ५०० औषधि १ करोड ४० लाख, सोडाइन फोस्फेट ७५ लाख, कफ सिरफ ६० लाख, डेक्सामिथासोन ट्याब ५० लाख, डेक्सामिथासोन २ एमएल ४ लाख ८० हजार कुल मौज्दात रहेको संघले जनाएको छ।
यस्तै, डक्सीसाइक्लिन १ करोड २० लाख, आइभरमेक्टिन १० लाख, मल्टिभिटामिन २ करोड ७९ लाख, पारासिटामोल ५०० एमजी ३ करोड २५ लाख, प्रेड्नीसोलोन ५५ लाख, भिटामिन बी कम्प्लेक्स २ करोड ४५ लाख, भिटामिन सी २ करोड ४३ लाख र जिंक १ करोड ९० लाख कुल मौज्दात रहेको विवरणमा उल्लेख छ।
कोभिड १९ को उपचारमा अत्यधिक प्रयोग हुने औषधिको बजारमा माग धेरै भएको र आन्तरिक ढुवानी तथा कुरियरमा अवरोध भएका कारण औषधि सम्बन्धित स्थानमा पुर्याउन केही ढिलाई भएको संघले जनाएको छ। तर आफुहरुसँग ओषधिको मौज्दात नभएर वा उत्पादन क्षमता नभएर अभाव नभएको विज्ञप्तिमा उल्लेख छ।
मुलुकको विषम परिस्थितिमा स्वदेशमा बन्ने औषधिको अभाव अभाव हुन नदिने संघले प्रतिवद्दता जनाएको छ। अनावश्यक रुपमा औषधिको संचित नगर्न तथा चिकित्सकको सल्लाह बिना औाषधिको प्रयोग नगर्न संघको आग्रह छ।