सन् २०२० मा कोरोनाको विश्वव्यापी संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन। कोरोना भाइरसको स्वरुप परिवर्तन भई (हाल कोभिड १९ भेरियन्ट) संक्रमणको दोस्रो लहर सन् २०२१ मा नेपालसम्म आइपुग्दा छिमेकी राष्ट्रमा लाखौँको मृत्यु भइसकेको छ।
देशमा आवश्यक औषधि तथा सुविधा सम्पन्न पूर्वाधारको कमी खड्किरहेको छ। सारा विश्वकै लागि कोभिड १९ नौलो संक्रमणको रुपमा रहेको यो महामारीको प्रकोप थेग्न र संक्रमणको जोखिमलाई निष्क्रिय गराउन विभिन्न औषधिहरुको खोजी भइरहेका छन्।
विश्वभरीकै विज्ञ र अनुसन्धानकर्ताहरु नयाँ औषधिको खोजीमा दिनरात जुटिरहेका छन्। कोभिड १९ संक्रमण विरुद्धको खोप छोटो समयको अनुसन्धानबाट नै प्रयोगमा आइसकेको छ। यो अवस्थामा विभिन्न औषधिहरुको प्रयोग र परीक्षण कयौं राष्ट्रले गर्दै आएपनि प्रभावकारिता सम्बन्धी ठूला बहस हुने गरेका छन्।
नेपालको केही दिन अघिको अवस्थालाई नियालेर हेर्न हो भने रेमडिसिभर औषधि उपलब्धतालको लागि धेरै नै दौडधुप गरेको देखिएको छ। नेपालमा एक समय यस्तो अवस्था पनि सिर्जना भयो की यसको प्रयोग र आपूर्ति हुन नसक्ने हो भने अस्पतालमा राखिएका जटिल बिरामीहरुको तुरुन्तै अवशान हुने जस्तो भयो। बिरामी लगायत चिकित्सक तथा फर्मासिस्टहरु यसको आपूर्ति, उपलब्धता र उपयोग गर्न दिनरात लागि परे। उता बिरामीका आफन्तहरु प्रेसक्रिप्सन बोकेर अस्पताल र फार्मेसीहरु चहार्न थाले।
एक भाइलको पचास हजारसम्म तिर्न पनि तयार हुनेहरु भेटिए। सामाजिक सञ्जाल, इमेल, टेलिफोन, रेडियो तथा टेलिभिजनमा यही औषधिको खोजीका समाचारहरु बन्न थाले। अन्ततः ५५ हजार भाइलको आयात स्वीकृति पाएको यस औषधि विभिन्न अस्पतालमा १० देखि एक सय भाइल पु¥याइएको खबरहरु पनि देखियो। अझ यसलाई यसरी प्रचार गरियो की मानौँ यो कोभिड १९ बिरामीहरुका लागि अमृत नै हो।
बिरामीबाट माग बढ्न थालेपछि यो औषधिको कालो बजारी पनि धेरै नै भए।
के हो रेमडिसिभर?
रेमडिसिभर एक एन्टी भाइरल औषधि हो। हेपाटाइटिस सी तथा इबोला भाइरस जस्ता संक्रमणमा यो औषधि प्रभावकारी रहेको तथ्यहरु भेटिन्छन्। यो औषधिले भाइरसँग सुक्ष्म रुपमा टाँसिएर भाइरसको संख्यालाई बढ्न नदिई संक्रमणलाई घटाउँछ।
कोभिड १९ मा प्रयोग सम्बन्धी पर्याप्त खोज र अनुसन्धान बाँकी रहेको यो औषधि विश्वभरी नै एक समय प्रयोगमा आयो। विश्व स्वास्थ्य संगठन डब्लुएचओले सन् २०२० नोभेम्बर २० मा यसको प्रयोग बारे आफ्नो धारणा प्रस्तुत गरिसकेको छ।
डब्लुएचओले यसको प्रयोगको प्रभावकारिता बारे प्रमाणहरु नभएको जनाइसकेको छ। यो अवस्थामा यसको प्रयोग र वितरण गर्ने की नगर्ने भन्ने अन्यौलता केही चिकित्सक तथा फर्मासिस्टहरुमा देखिन्छ।
यस्तै, ब्रिटिश मेडिकल जर्नलका अन्तर्राष्ट्रिय विज्ञहरुले यो औषधिको प्रयोग गर्दा रगतमा अक्सिजनको मात्रा पर्याप्त सुधार तथा उल्लेखनीय प्रगति नभएको साथै बिरामीको अस्पताल बसाईको अवधिमा फरक नपरेको बताएका छन्।
अहिले नेपालको प्रमुख अस्पतालहरुमा प्रयोगमा आएका औषधिहरु रेमडिसिभिर, तोसिलिज़ुमाब (हाल आयात भइनसकेको), स्टेरोइड्स (डेक्सामेथासोन, मिथाइलप्रेड्निसोलोन) तथा एनोग्ज़परिन हुन्।
फोक्साको संक्रमण देखिएमा एन्टीबायोटिक प्रयोग गर्ने गरिन्छ। बिरामीमा देखिएको समस्या र लक्षणको आधारमा समाधान खोज्दै जाँदा विभिन्न औषधिहरु प्रयोगमा आएका छन्। खोपको प्रयोग पश्चात कोभिड १९ पोजिटिभ देखिएपनि बिरामीमा जटिलता नदेखिएको भनाई चिकित्सकको छ। खोपको प्रयोगलाई विश्वका अधिकांश देशले प्राथमिकतामा राखेका छन्।
(श्रेष्ठ, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका फार्मेसी प्रमुख हुन्।)