काठमाडौं- रौतहटको गंगा पिपरास्थित प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)मा बिरामीको उपचारमा सक्रिय डाक्टरलाई प्रहरीले बिना कारण भ्यानमा राखेर लिएको गएको भन्दै स्वास्थ्यकर्मीले बिरोध गरेका छन्।
ड्युटीमा खटिएका चिकित्सकलाई प्रहरीले जबरजस्ती लिएर गएपछि स्वास्थ्यकर्मीले बिरोध गरेका हुन्। उनीहरुले गल्ती गर्ने प्रहरीले माफी नमागेसम्म पिएचसी बन्द गर्ने निर्णय गरेका छन्।
गाउँपालिकाले चलाएको कोभिड आइसोलेसन सेन्टरका इन्चार्ज डा संजितकुमार साहलाई प्रहरीले बिना कारण प्रहरी चौकीमा लिएर गएको बिरोधमा स्वास्थ्यकर्मी आन्दोलित भएका हुन्। उनीहरुले डा साहलाई प्रहरीले अपहरण शैलीमा लिएर गएको बताएका छन्।
घटनाका विषयमा स्वास्थ्यखबरले डा संजितकुमार साहसँग कुराकानी गरेको छ। डा साहको भनाई उनकै शब्दमा:
म प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर हुँ। म अहिले दुर्गा भगवती गाउँपालिकाको कोभिड–१९ युनिटमा संयोजकको रुपमा कार्यारत छु। त्यहाँ डाक्टर म मात्र हो। आज बिहान गाउँमा एकजना व्यक्ति हिँडिरहेका थिए। त्यहाँ प्रहरी र स्थानीयबीच झडप भएपछि स्थानीय घाइते भएका थिए। प्रहरीले नै कुटपिट गरी घाइते भएका व्यक्तिलाई प्रहरीले नै हाम्रो पिएचसीमा लिएर आउनुभयो। हाम्रोमा अहिले कोभिडको बिरामी मात्र हेरिरहेको अवस्था छ। तर घाइतेलाई लिएर प्रहरी आएपछि हामीले घाइतेको प्राथमिक उपचार गर्नुपर्छ भनेर स्लाइनहरु, पेनकिलरहरु दियौं। एक्सरे पनि गर्यौं।
त्यतिबेला सम्म स्थानीयहरुको भिडभाड जम्मा भइसकेको थियो। प्रहरीले बिरामीलाई जिल्ला अस्पतालमा लिएर जाने भनेपछि हामीले रिफरल कागज बनाइदियौं।
त्यसपछि प्रहरीले मलाई पनि जानुपर्छ भन्नुभयो।
म कोभिड आइसोलेसनमा एक्लो डाक्टर थिएँ।
त्यसैले प्रहरीलाई मैले भने- म कोभिडमा खटिएको छु, बिरामीहरु छन् बिरामी हेर्नुपर्छ म जान मिल्दैन।
केही पर्यो भने म पछि आउछु भनेँ।
जिल्ला अस्पताल १० मिनेट जति मात्र टाढा थियो। घाइते व्यक्तिको अवस्था गम्भीर थिएन।
त्यसैले घाइतेसँग डाक्टर वा स्वास्थ्यकर्मी जानुपर्ने अवस्था थिएन। म कोरोना संक्रमितसँग एक्स्पोज भएको डाक्टर म जान मिल्दैन पनि थियो। जानुपर्ने पनि थिएन।
मैले म जान मिल्दैन भनेपछि प्रहरीहरु गए, घाइतेलाई एम्बुलेन्समा राखेर लगे।
त्यसको १० मिनेट पछि प्रहरीको भ्यान फेरि आयो।
माथिबाट आदेश आएको छ तपाई हामीसँग हिड्नुहोस् भन्नुभयो।
मैले भने, म जान मिल्दैन। कोरोना संक्रमितसँग एक्स्पोज भएको छु।
म जानुपर्ने आवश्यकता पनि थिएन।
तर मेरो कुरा उहाँहरुले मान्नु भएन।
माथिबाट आदेश छ तपाई जानै पर्छ भने।
मैले जाँदिन, जान मिल्दैन भने।
त्यसपछि प्रहरीले मलाई ४ तिरबाट घेरेर ठेलठाल गरेर जवरजस्ती गाडीमा ठेलदिए।
ममाथि ज्यादती भएपछि मैले सोधे– कहाँ लिएर जान लाग्नुभएको हो ?
तपाईंलाई बिरामीसँग लिएर जान लागेको भने।
तर बिरामी त्यहाँ थिएन, जिल्ला अस्पताल पुगिसकेको थियो सायद।
तपाईंलाई बोलाउने आदेश छ भने।
मैले मोबाइल निकालेर फोन गर्न खोजेँ। मेरो मोबाइल पनि थुतिदिनुभयो।
त्यसपछि मैले केही गर्न सकिन। बाहिर वोइटिङमा राखिदिए।
मोबाइल पनि दिएनन्।
आज बिहानको घटना हो। बिहान ८ बजे मलाई लिएर जानुभएको थियो। साढे ९ भइसकेको थियो। १० बजे उता कोभिडका बिरामी हेर्नुपर्ने थियो।
मैले बिरामी जाँच्न ढिला हुन्छ छिटो गरिदिनुस् मलाई किन ल्याइएको हो भनेँ।
तर प्रहरीले मलाई थर्काउदै भने, तपाईं चुप लागेर बस्नुस् एसपी आउछन् उहाँसँग कुरा गर्नुस् हामीलाई भनेर केही हुदैन। हामीलाई आदेश आएको थियो। हामीले त लिएर आयौं।
त्यसपछि एसपी आउनुभयो। माथि लिएर गए।
उहाँलाई मलाई जबरजस्ती ल्याइएको कुरा सुनाए।
एसपीले उहाँहरुले धेरै पढ्नु भएको छैन। गल्ती गर्नुभएको हो भनेर प्रहरीले गरेको गल्ती रियालाइज गरे।
मैले मलाई जबरजस्ती ल्याउने इन्सपेक्टरलाई बोलाउनस् भने उहाँ आउनुभयो।
तर उहाँले मलाई अनुरोध गरेर ल्याएको भने।
मलाई जबरजस्ती घेरेर ल्याएका उहाँले त्यहाँ एसपीको अगाडि चाँही अनुरोध गरेर ल्याएको भने। म आउन मिल्दैन भन्दाभन्दै मलाई जवबजस्ती ल्याइएको हो ड्युटीमा भएको डाक्टरलाई अपराधी जसरी ल्याइएको हो यस्तो कोरोना महामारीको बेलामा भनेर मैले एसपीलाई भने।
तर इन्सपेक्टरले अनुरोध गरेर नै ल्याएको हो भने गल्तीको रियालाइज गरेनन्।
कोरोना महामारीमा ड्युटीमा भएको डाक्टरलाई जबरजस्ती ल्याएर गल्ती भएको कुरा रियालाइज नगर्ने भनेर म निस्किन्छु भनेँ। त्यसपछि म त्यहाँबाट निस्केर सिडियो कार्यालयमा गएँ।
त्यतिबेलासम्म हाम्रो पिएचसीका स्वास्थ्यकर्मीहरु पनि ज्ञापनपत्र बुझाउन आउनुभयो। तर सिडियोसँग भने भेट भएन।
ड्युटीमा भएको डाक्टरलाई यसरी अपराधी जसरी लगेर गल्ती गरेपनि उहाँहरुले माफी माग्नु भएन।
म ड्युडी गरिरहेको डाक्टर थिएँ। मलाई स्थानीयकै अगाडि मेरो बेइजत गरेर अपराधी जसरी भ्यानमा हालेर ड्युटी गर्दागर्दै लगियो। मेरो माग गल्ती गर्ने प्रहरीले माफी माग्नुपर्छ भन्ने हो।
हामीले हामीसँग माफी नमागेसम्म पिएचसी बन्द गर्ने निर्णय गरेका छौं।
हेरौं विज्ञप्ति