काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै भारतीय समकक्षी रामनाथ कोविंदलाई पत्र पठाएकी छन्।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले मंगलबार नै भारतीय समकक्षीलाई पत्र लेखेकी हुन्।
'नेपालमा कोभिडविरुद्धको खोप आपूर्तिमा कठिनाइ भएपछि राष्ट्रपतिज्यूले त्यसमा सहजीकरण गरिदिन भारतीय समकक्षीलाई पत्र पठाउनुभएको छ,' राष्ट्रपति कार्यालयका एक अधिकारीले भने।
नेपालले भारतको सेरम इन्स्टिच्युटबाट १० लाख डोज कोभिशिल्ड खरिद गरेको थियो। त्यसपछि आउने प्रक्रियामा रहेको १० लाख डोज खोप रोकिएको छ। थप ५० लाख डोज खोप खरिदको प्रक्रिया अघि बढाइएको भए पनि भारतमा कोरोना संक्रमण तीव्र बनेसँगै त्योसमेत अवरुद्ध बनेको छ। खोप आपूर्ति गर्ने सेरम इन्स्टिच्युटले अहिले खोप आपूर्ति गर्न नसकिने बताइसकेको छ।
बुधबार राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन संवाद गरेर चीनबाट समेत खोप खरिद गर्ने प्रक्रियामा सहजीकरणका लागि आग्रह गरेकी छन्।