काठमाडौं– उपचारका क्रममा कोरोना संक्रमित बिरामीको मृत्यु भएको निहुँमा आफन्तले लखेटेपछि भेरी अस्पताल नेपालगञ्जका चिकित्सक तथा स्वास्थ्यकर्मीले ज्यान जोगाउनका लागि एक तला माथिबाट हाम फालेका छन्।
अस्पतालका चिकित्सक डा दिपक गुप्ताका अनुसार करिब साढे ९ बजेतिर कोभिड वार्डमै आएर स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि ज्यान जोगाउन चिकित्सक तथा नर्सहरुले एक तला माथिबाट हामफालेका हुन्।
अस्पतालमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्युभएपछि उनका आफन्त आक्रोशित हुँदै स्वास्थ्यकर्मीमाथि हातपात गर्न थालेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ज्यान जोगाउन भाग्नुपर्ने अवस्था आएको बताए गुप्ताले बताए।
ड्युटीमै रहँदा आक्रमण हुन लागेपछि अस्पतालका डा चन्द्र प्रकाश साहु, स्टाफ नर्स अश्विनी गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठले ज्यान जोगाउनका लागि अस्पतालको एकतला माथिबाट हामफालेको डा गुप्ताको भनाइ छ।
मृतकका आफन्तले वार्डभित्रै प्रवेश गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रम गरेपछि अस्पतालमा तनाव सिर्जना भएको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि प्रमुख जिल्ला अधिकारी सहितको टोली अस्पतालमा पुगेर छलफल भइरहेको डा गुप्ताले जानकारी दिए।
कसरी भयो चिकित्सकमाथि आक्रमण?, डा गुप्ताकै शब्दमा–
ती बिरामीलाई दाङबाट रेफर भएर १० दिन अघि यहाँ ल्याइएको थियो। उहाँको अवस्था सिरियस भएर सुरुदेखि नै आईसीयूमा राखिएको थियो।
उहाँहरुले यही (भेरी अस्पतालमै) राखेर उपचार गर्ने भन्ने निर्णय गरेपछि १० दिन अघि देखि नै आइसीयूमा राखेर उहाँको उपचार भइरहेको थियो।
आज (बिहीबार) राति ९ बजेतिर उहाँको अवस्था एकदमै नाजुक भयो। एउटै वार्डमा दुईजना बिरामी एकैपटक सिरियस थिए। मैले एकजना बिरामी हेर्दै थिए। मेरो साथीले दाङको बिरामी हेर्दै हुनुहुन्थ्यो। उहाँहरुको अवस्था सिरियस भएर भेन्टिलेटरमा राख्ने कुरा भयो। उहाँलाई भेन्टिलेटरमा राख्न लैजाने तयारी गर्दागर्दै मृत्यु भयो।
बिरामीका आफन्तले पहिलेदेखि नै हाम्रो बिरामीलाई केही भयो भने हामी तपाईंलाई छोड्दैनौं भनेर धम्काउँथे। बिरामीको मृत्यु हुनेवित्तिकै उहाँको आफन्तलाई जानकारी गराइयो। त्यसपछि एकैपटक ८–१० जना व्यक्तिहरु ग्रुपमा आएर ड्युटीमा रहेका एकजना स्टाफको घाँटी समाते। पिट्न थाले। त्यसपछि ड्युटीमा रहेका अन्य चिकित्सक र नर्सहरु क्याविन भित्र जानुभयो।
मृतकका आफन्तहरुले क्याविनको ढोका भाँचेर भित्र आएपछि त्यहा हुनुभएका एकजना डाक्टर र ३ जना नर्स बाथरुममा जानुभयो। मृतकका आफन्तहरुले बाथरुमको पनि ढोका फोड्न लागेपछि बाथरुमको झ्यालबाट बाहिर निस्केर अस्पताल भवनको एकताला माथि करिब २० मिटरको हाइटबाट हामफालेर ज्यान जोगाउनुभयो।
सो क्रममा एकजनाको खुट्टामा चोट पनि लागेको छ। पछि मृतकका आफन्तहरुले बाहिर आएर पनि झगडा गर्नुभयो। अहिले हामी सबै स्टाफहरु बाहिर नै छौं। सीडीओ आउनुभएको छ, एसपी आउनुभएको छ। एनएमएबाट पनि आउनुभएको छ।
अस्पताल व्यवस्थापनको टिम पनि आएको छ। अहिले छलफल चलिरहेको छ। हामी ड्युटीमा रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएकाले हामी सबै बाहिर छौं। हाम्रो सुरक्षाको प्रत्याभुति नभएसम्म ड्युटीमा फर्किने अवस्था पनि छैन।