काठमाडौं- भेरी अस्पतालका कोभिड वार्डमा चिकित्सक तथा नर्समाथि भएको भौतिक आक्रमणको विरोध गर्दै दोषिलाई कारवाहीको माग गरिएको छ।
उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आइसियु वार्डमै प्रवेश गरेर यस्ता हातपात गर्दा स्वास्थ्यकर्मीको मनोबल घट्ने र अन्य बिरामीको उपचार समेत प्रभावित हुनेभन्दै विरोध भएकोछ ।
बिहीबार राती भेरीका स्वास्थ्यकर्मीमाथि उपचाररत बिरामीको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमै छिरेर चिकित्सक र नर्समाथि हातपात गरेका थिए। सो क्रममा ज्यान जोगाउन चिकित्सक र नर्सले माथिल्लो तलाबाट हाम फालेर ज्यान जोगाएका थिए।
उक्त घटनाको सामाजिक संजालमा चिकित्सकहरुले विरोध गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कोभिड फोकल पर्सन डा अनुप बास्ताेला सामाजिक संजालमा लेख्छन्:
भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारनिन्दनीय छ । यस्ता घटनाले हाम्रो समाजको चेतनास्तर देखाउँछ। संक्रमणको जोखिमका बीच स्वास्थ्यकर्मीले आफ्नो कर्म गरिरहेकै छन्, तर बिरामीको मृत्यु हुनासाथ उनीहरुमाथि आक्रमणसम्म हुन्छ।
कोभिडको यो दोस्रो लहरमा बिरामी अस्पतालसम्म आइपुगेका छन् भने चिकित्सकले हरसम्भव बचाउने कोसिस गर्छन्। कति त घरघरमै मृत्युवरण गर्न वाध्य होलान्। तर, अस्पतालमा सारा दोष चिकित्सकमाथि नै आउँछ र कुटाइ समेत खानुपर्छ । योभन्दा लज्जाको विषय अरु के हुन्।
अस्पतालको साधनस्रोत र जनशक्तिले उपचार सेवामा फरक पार्छ।कोभिडका बिरामीको यो चाप थेग्न सरकारी अस्पताललाई हम्मे छ। कयौंले आफन्त गुमाउनु परेको छ। स्वास्थ्यकर्मीले नै आफन्त गुमाएका छन्। यो कठिन समय हो।यस्तो बेलामा धैर्य गर्न सिकौं ।तर,भेरी अस्पतालमा भएको घटनाका दोषीलाई कडा कारबाही गरौं।
कृपया, अब अत्यावश्यक कामबाहेक घर बाहिर निस्किएर आफूलाई र अरुलाई जोखिममा नपारौं । सुरक्षाका सबै मापदण्ड अपनाऔं । अहिले कसैलाई दोष दिएर केही हुनेवाला छैन । सकेसम्म सुरक्षित रहने कोसिस गरौं। यो डरलाग्दो समय बितेपछि खोजी गरौंला हामी कहाँ-कहाँ चुक्यौं।
ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेल लेख्छन्
भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घोर निन्दा गर्दछु। स्वस्थ्यकर्मीको मनोवल बढाउन सक्नुहुन्न ठिकै छ तर गिराउन चैं नखोज्नू किनकि अन्य धेरै बिरामीको उपचार प्रभावित हुनसक्छ।